बर्दिया ।
दुई सातायता बर्दियामा चर्को घामसँगै चलेको तातो हावा (लु)ले सदरमुकाम गुलरियाका विद्यार्थी कक्षाकोठामै बिरामी पर्न थालेका छन् ।
आइतबार ध्रुव माध्यमिक विद्यालय, तुलसीपुरमा पाँच जना विद्यार्थी बेहोस भएको केही समयमै बान्ता गरेको प्रधानाध्यापक पतिाम्बर पोखरेलले बताए ।
‘कक्षा चलिरहेको समयमा विद्यार्थीले रिँगटा लाग्यो भन्दै केहीबेरमै बेहोस हुन थाले । पाँच जना विद्यार्थीले भोमिट गरे,’ उनले भने, ‘केही विद्यार्थी विगत केही दिनयता उखरमाउलो गर्मीका कारण बेहोस हुने गरेका छन् ।’ बिहान ७ बजेदेखि चर्को घाम लाग्ने गरेको छ । चर्को घामले घर बाहिर निस्कने अवस्था छैन ।
बगलामुखी राधाकृष्ण थारू मावि, गुलरियाका प्रधानाध्यापक मतिराम शर्माले दैनिक २५/३० जना विद्यार्थी कक्षाकोठामा बेहोस भएको बताए । ‘जस्तापाता भएको छानामुनि बसेर पढ्ने भएकाले जस्तापाता तातेर आएको रापले विद्यार्थी तातिएर अत्ताल्लिने गरेका छन्,’ उनले भने । पालिकास्थित शिक्षा शाखाले भने यस्तो गर्मीमा पनि बिदा दिएको छैन ।
गुलरियाको खैरापुर, शंकरबस्तीलगायत विद्यालयहरूमा एक सातायता विद्यार्थी बेहोस भएरण् वान्ता गर्ने गरेको सम्बन्धित शिक्षकले बताए ।
गुलरिया नगरपालिकामा ४७ संस्थागत र १३ निजी विद्यालय रहेका छन । यी सबै विद्यालय गरी २० हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन् । शिक्षा शाखा गुलरियाका प्रमुख सतीश यादवले यस पालिकाका ५० प्रतिशत विद्यालय टिनले छाएको बताए । उनले सोमबारबाट बालबालिकालाई रुबेला र दादुरा खोप लगाउने कार्यक्रम रहेकाले गर्मी बिदा नदिइएको बताए ।