बुटवल ।
चौराहा हस्पिटल प्रालिमा शुक्रबार बिहान उपचारको क्रममा एक जनाको मृत्यु भयो । ६० वर्षका ओखलढुंगा, श्रीचौर ९ का खिम बहादुर मगर हिट स्ट्रोकका कारण मृत्यु भएको पुष्टि गरियो । बुटवलको गर्मीमा मजदुरी गर्ने उनी एक्कासी बिरामी परे । क्लिनिकमा उपचार पछि चौराहा हस्पिटल ल्याउँदा होस् गुमाएको अवस्थामा थिए । अस्पतालमा ल्याई पुर्याउँदा उनलाई १०८ ड्रिग्रि ज्वरो र अचेत अवस्थामा रहेको उपचार संलग्न चौराहा अस्पतालका वरिष्ठ फिजिसियन सरोज थापाले बताए ।
शुक्रबार बुटवलको अर्को अस्पतालमा थप एक जनाको मृत्यु भएको छ । अत्यधिक गर्मीका कारण रुपन्देहीमा २ जना मानिसको मृत्यु भएको हो । चिकित्सकका अनुसार रुपन्देहीमा बढेको गर्मी र तातो हावाले हिट स्ट्रोकका कारण मृत्यु भएको दाबी गरेका छन् । ‘चर्को घाम र तातो हावाको प्रभाव देखिएको छ’— चौराहा हस्पिटल प्रालिका वरिष्ठ फिजिसियन डा सरोज थापाले भने । गर्मी मौसममा डिहाइड्रेसनको समस्या सामान्य हुन्छ । वास्तवमा गर्मीको मौसममा शरीरमा रहेको पानी पसिनाको रुपमा बाहिर निस्कन्छ र शरीरको तापक्रम सामान्य राख्न पानी आवश्यक हुन्छ । यस्तो अवस्थामा पानी कम पिउँदा डिहाइड्रेसन हुने खतरा बढ्छ ।
अत्यधिक डिहाइड्रेसन वा गर्मी स्ट्रोकका कारण पनि व्यक्तिको मृत्यु हुने उनले बताए । अत्याधिक गर्मीका कारण मानिसको दिमागको माथिल्लो भाग (हाइपोथेरोमस) ले बाहिरी तापक्रम नियन्त्रण गर्न नसक्ने अवस्थाका उपचारमा आएका बिरामीको मृत्यु भएको चिकित्सक बताउँछन् ।