बुटवल ।
तिनाउ नदीमा पौडी खेल्ने क्रममा एक युवकको मृत्यु भएको छ । पाल्पाको तिनाउ गाउंपालिका–३ मा पर्ने तिनाउ खोलाको विद्युत ड्याममा डुबेर गुल्मीको सत्यवती गाउँपालिका–७ घर भएका १८ वर्षीय अभिशेख परियारको मृत्यु भएको हो ।
परियार रुपन्देहीको तिलोत्तमा–३ ड्राइभर टोलमा कोठा भाडामा लिएर बस्दै आएका थिए । शनिबार दिउँसो पौडी खेल्न भन्दै तिनाउ खोलाको ड्याममा गएका परियार अचानक खोलामा डुबेर वेपत्ता भएका थिए ।
परियारलाई दोभान प्रहरी चौकीका प्रहरीले खोजतलास गर्दा सोही ठाउंमा अचेत अवस्थामा फेला परेका थिए । उनलाई उद्दार गरी लुम्बिनी प्रादेशिक अस्पतालमा पु¥याएकोमा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डीएसपी वीरेन्द्र थापाले जानकारी दिए ।
उक्त स्थानमा यसअघि पनि पटक पटक पौडी खेल्ने क्रममा डुबेर मानिसको ज्यान जाने गरेपनि त्यहां जान रोक लगाउने विषयमा सम्बन्धित निकायको ध्यान पुगेको छैन ।