रुपन्देही ।
बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादनको तयारी भएको छ।
आम्दा अस्पताल सञ्चालक समितिको बैठकले अस्पतालमा डिप्लोमा इन फार्मेसी, पिसिएल नर्सिङ र एचए विषयको अध्ययनका लागि अनुमति प्राप्त हुने प्रक्रियामा रहेकाले आवश्यक काम अगाडि बढाउने निर्णय गरेको सञ्चालक समितिका अध्यक्ष समेत रहेका बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए ।
बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाको सञ्चालक समितिमा रहेका बुटवल उपमहानगरपालिका, आम्दा नेपाल र बुटवल उद्योग वाणिज्य संघले अस्पतालको स्तरोन्नति गर्नका लागि सामुहिक प्रतिबद्धता जनाएका छन्।
बैठकले समझदारी गरिएअनुसारका काम अगाडि बढाउनका लागि संघ र प्रदेश सरकारसँग समन्वय र सहजीकरण गर्ने निर्णय गरेको उहाँले बताउनुभयो। यस्तै बैठकले आगामी कार्तिक १६ गते आम्दा अस्पताल स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा विभिन्न कार्यक्रम गरी रजत उत्सव मनाउने निर्णय गरेको छ।








