एसेज टेस्ट शृङ्खला अन्तरगतको पहिलो खेलमा अस्ट्रेलियाले इंग्ल्याण्डमाथि २ विकेटको रोमाञ्चक जीत हासिल गरेको छ । इंग्ल्याण्डले प्रस्तुत गरेको २ सय ८१ रनको लक्ष्य अस्ट्रेलियाले ८ विकेटको क्षतिमा पछ्याएको हो ।
२ सय २७ रनमा ८ विकेट गुमाएको अस्ट्रेलियाका लागि कप्तान प्याट कमिन्सले नटआउट रहँदै ४४ रन तथा न्याथन लियोनले १६ रन बनाउँदै जीतसम्म डोर्याए । यसअघि ओपनरद्वय उस्मान ख्वाजाले ६५ तथा डेभिड वार्नरले ३६ रन बनाउँदै अस्ट्रेलियालाई राम्रो सुरुवात दिलाएका थिए ।
तर, स्टुअर्ट ब्रोडले मध्यक्रमलाई ध्वस्त बनाएपछि अस्ट्रेलिया हार नजिक पुगेको थियो । अस्ट्रेलियाका लागि क्यामरुन ग्रिनले २८ तथा एलेक्स केरीले २० रन बनाए । इंग्ल्याण्डका लागि ब्रोडले ३ तथा ओली रोबिन्सनले २ विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।
इंग्ल्याण्डले ८ विकेटको क्षतिमा ३९३ रन बनाउँदै पहिलो पाली समाप्तिको घोषणा गरेको थियो । जवाफमा अस्ट्रेलियाले ३८६ रन बनायो । दोस्रो पालीमा भने इंग्ल्याण्ड २७३ रनमा समेटिएको थियो ।
पहिलो पालीमा १४१ रन तथा दोस्रो पालीमा ६५ रन बनाएका ख्वाजा प्लेअर अफ द म्याच चुनिए । अब दोस्रो टेस्ट जुन २८ मा लर्डस् मैदानमा खेलिनेछ ।