गृहपृष्ठ Featured बुटवल उपमहानगरको नीति तथा कार्यक्रम सार्वजनिक

बुटवल उपमहानगरको नीति तथा कार्यक्रम सार्वजनिक

प्रकाशित मिति:

बुटवल ।

राजस्वका दायरा बढाएर र आन्तरिक आम्दानी बढाउने महत्वकांक्षी लक्ष्यसहित बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको  छ ।

बुटवल औद्योगिक क्षेत्रमा रहेका सबै उद्योगलाई उपमहानगरमा दर्ता गरी करको दायरामा ल्याउने तथा उक्त क्षेत्रका एकीकृत सम्पत्ति कर र बहाल कर लिने नीतिमा उल्लेख छ । तर औद्योगिक क्षेत्र संघीय सरकार मातहतमा छ । बजारमा छरिएर ठेलागाडालाई रात्रिकालीन बजारमा घुम्ती रेस्टुरेन्टका रुपमा संचालन गरी पोका, डोका र झोलामा सामान बेच्नेलाई समेत करको दायरामा ल्याइने उपमहानगरले जनाएको छ । कवाड व्यवसायलाई समेत करको दायरामा ल्याउने आगामी वर्षको नीति कार्यक्रममा छ ।

एकल महिला लैंगिक तथा यौनिक अल्पसंख्यक टेम्पो तथा ई-रिक्सा र टेम्पो धनी नै चालक भएमा नवीकरणमा २५ प्रतिशत र महिला स्वरोजगार चालक भएमा १५ प्रतिशत छुट दिने नीति, कार्यक्रममा व्यवस्था गरिएको नगरप्रमुख खेलराज पाण्डेयले बताए । उनले बुटवलवासीका आवश्यकता र चाहनालाई समेटेर सबैका लागि बस्नयोग्य बुटवल बनाउने लक्ष्यसहित नीति कार्यक्रम ल्याएको दाबी गरे ।

शैक्षिक सुधारका लागि नगरप्रमुख शैक्षिक विकास कार्यक्रम संचालन गर्ने एवं सबै विद्यालयलाई बालमैत्री, छात्रामैत्री र अपांगमैत्री बनाउने भनिएको छ । प्राविधिक शिक्षालाई प्राथमिकता दिँदै सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा पारामेडिकल, बुटवल टेक्निकल इन्स्टिच्युट बिटिआईमा डिप्लोमा तहका इन्जिनियरिङ विषय र अटो भिलेजमा स्नातक तहको इन्जिनियरिङको अध्ययन सुरुआत गरिने छ ।

स्वास्थ्यतर्फ ‘नगर प्रमुख स्वस्थ शिशुदेखि जेष्ठ नागरिकसम्म’ भन्ने नारासहित नवजात शिशु,आमाको पोषण र स्वास्थ शिविरलाई घरदैलोमा पुर्‍याउने योजना बनाएको छ । आम्दा अस्पतालमा आमा सुरक्षा कार्यक्रम लागू गरी नि:शुल्क प्रसूति सेवा सुरु गरिने छ । एचआईभी संक्रमित १८ वर्षमुनिका बालबालिकालाई पोषण सुधार्न भन्दै मासिक १ हजार ८ सय रुपैयाँ दिने भएको छ ।

बजार क्षेत्रमा सार्वजनिक शौचालय बनाउने र नगर क्षेत्रको फोहोर व्यवस्थापन गर्न साझेदार संस्थाको सहकार्यमा फोहोर प्रशोधन क्षेत्र निर्माण गर्ने छ । ‘मेरो टोल म आफै सफा गर्छु’ भन्ने नारासहित टोल सरसफाइ गर्ने र ग्रीन एन्ड क्लिन सिटी बनाउने योजना पनि नीति, कार्यक्रममा समेटिएको छ ।

बुटवललाई लैंगिक हिंसामुक्त, बालमैत्री र विभेदमुक्त सहर बनाउने, लैंगिक हिंसा पीडित महिलालाई अल्पकालीन आश्रयस्थलको व्यवस्था गर्ने तथा किशोरीलाई जीवनोपयोगी सीप प्रदान गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै न्यायमा सर्वसाधारणको पहु्ँचका लागि वडास्तरमै मेलमिलाप केन्द्र स्थापना गर्ने उपमहानगरको कार्यक्रम छ ।

सम्बन्धित् समाचार