गृहपृष्ठ Featured लुम्बिनी प्रदेश : करिब ७८ हजार गाई–भैँसीमा लम्की स्किनको सङ्क्रमण

लुम्बिनी प्रदेश : करिब ७८ हजार गाई–भैँसीमा लम्की स्किनको सङ्क्रमण

बुटवल ।

लुम्बिनी प्रदेशमा पशुमा लाग्ने लम्की स्किनको प्रकोप पछिल्लो दुई महिना यता बढ्दै गएको लुम्बिनी प्रदेश पशुपन्छी निर्देशनालयले जनाएको छ ।

१२ वटा जिल्ला रहेको प्रदेशमा अहिले रोल्पा,बाँके, बर्दिया, गुल्मी, प्युठान, अर्घाखाँची लगायतका जिल्लाका चौपायाहरूमा यो रोग व्यापक रूपमा फैलिएको छ ।

लुम्बिनी प्रदेशमा अहिले ७७ हजार ९ सय १३ गाई–भैँसीमा सङ्क्रमण देखिएको छ ।रोगका कारण २८ सय ३१ गाई–भैँसीको मृत्यु भएको छ । निर्देशनालयका निर्देशक डा.परबेज आलमका अनुसार १२ वटा जिल्लामध्ये अहिले सबैभन्दा असर रोल्पामामा परेको छ ।

रोल्पामा अहिलेसम्म २७ हजार पशु सङ्क्रमित भएका छन् भने ११ सय  ३९ पशुको मृत्यु भएको छ । प्रदेश निर्देशनालयको अनुसार  अहिले सम्मको अवस्था हेर्दा सबै कम सङ्क्रमण भएको जिल्ला नवलपरासी पश्चिम रहेको छ, जहाँ १०४ पशु सङ्क्रमित छन् भने ५ को मृत्यु भएको छ ।
चिन्तामा किसान

गुल्मीको मुसिकोट नगरपालिका–२ का रामबहादुर महतको  गोरुलाई सुरुमा घाँटी र पुच्छरमा गिर्खा देखिएको थियो । पछि ज्वरो आउने, फिँज काड्ने गर्दा एक हप्तामा गोरु मर्‍यो ।

उक्त गाउँका मीनबहादुर महत, बुद्ध थापा, राजु नेपाली, नरबहादुर कार्की, डम्बरबहादुर बोहरासहित धेरैको गोरु मरेको तथा बिरामी परेको स्थानीय किसान वासुदेव घिमिरेले बताए ।

मुसिकोट नगरपालिकाका प्रमुख जीवलाल खरेलले सबैतिर पशु चौपायामा लागेको भाइरसले असर गरेकाले पशु स्वास्थ्यकर्मीलाई खटाउन निर्देशन दिई सकिएको बताए।

भेटनरी अस्पताल तथा पशुविज्ञ केन्द्र गुल्मीका प्रमुख  डा भरत काफ्ले  खेत रोप्नेबेला गोरु मर्न र बिरामी पर्न थालेपछि किसानहरू चिन्तामा रहेको बताउँछन् ।

प्युठानको गौमुखी गाउँपालिकाका किसानका गाई, गोरुसँगै बाख्रा पनि मर्न थालेको स्थानीय रामप्रसाद शर्माले बताए । यस्तै रोल्पामा पनि यस्तै समस्या रहेको छ ।

सम्बन्धित् समाचार