पाल्पा ।
यही असार ४ गते एकै दिन डुबेर पाल्पामा दुइ जनाको मृत्यु भयो। साथीहरूसँग गर्मी छ्ल्न आएका रूपन्देहीको शुद्धोधन गाउँपालिका–२ रजाडका २२ वर्षीय सञ्जय चौधरी र भारतको गोरखपुरस्थित फत्तेपुरका ३४ वर्षीय विपीन धुसियाको खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको थियो।
रैनादेवी छहरा गाउँपालिका– ८ सत्यवतीमा रहेको जलुके झरनामा डुबेर चौधरीको मृत्यु भएको हो। यस्तै, धुसिया तिनाउ गाउँपालिका– ३ सिद्धबाबा नजिकै तिनाउ खोलामा डुबेका थिए।
जिल्लामा पछिल्लो अवस्था हेर्दा महिनामा सरदर दुई जनाको डुबेर मृत्यु भएको देखिन्छ। चालू आर्थिक वर्षको यही असार महिनाको पहिलो सातासम्ममा विभिन्न खोला तथा पोखरीमा डुबेर २३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए।
उनकाअनुसार १२ जना पुरुष, २ महिला, ५ बालक, ४ बालिकाको डुबेर मृत्यु भएको छ। जिल्लाको तिनाउ गाउँपालिका-३ स्थित झरना रहेको भुतखोला, तिनाउमा रहेको ड्याम्म र तिनाउ खोलामा मात्र डुबेर सबैभन्दा बढी ९ जनाको मृत्यु भएको थापाले बताए। यस्तै कालीगण्डकी नदी र अन्य खोलामा समेत डुबेर मृत्यु भएको अवस्था छ।
मृत्यु हुनेमा अधिकांश पाल्पा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक छन्। तिनाउ खोलाको ड्याम्म साइड र भुतखोलामा सेल्फी तथा फोटो खिच्ने क्रममा उनीहरूको डुबेर मृत्यु भएको हो।
पर्यटकको सुरक्षाको लागि स्थानीय तहले विशेष ध्यान दिन आवश्यक रहेको प्रनाउ थापाले सुझाए।








