गृहपृष्ठ Featured पाल्पाका विभिन्न सडक अवरुद्ध

पाल्पाका विभिन्न सडक अवरुद्ध

प्रकाशित मिति:

पाल्पा ।

अविरल वर्षाले सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा खण्डका ठाउँठाउँमा पहिरो खस्दा शनिबार बिहानैदेखि सडक अवरुद्ध भएको छ । राजमार्गको तिनाउ गाउँपालिका–३, का धेरै स्थानमा पहिरो खसेको छ । राजमार्गको दोभान सिद्धबाबा खण्डको ठूलो झरना नजिकै ढुंगासहितको पहिरो खसेको छ । पानी परिरहेकाले पहिरो सफा गर्न नसकिएको दोभान प्रहरी चौकीले जनाएको छ ।

राजमार्ग अन्तर्गत माथागढी गाउँपालिका–१, चिदीपानी धैरेनीमा लेदोसहितको पहिरो खस्दा राजमार्ग बिहानैदेखि अवरुद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ । रातिदेखि परेको अविरल वर्षाका कारण गेग्रानसहितको पहिरोले राजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लले बताए । पहिरो र लेदो पन्छाउन पानी परिरहेकाले मुस्किल परेको छ ।

आर्यभन्ज्याङ–राम्दी सडकको रम्भा गाउँपालिका–३, पिपलडाँडा सेरा र लहसुने नजिकै पनि पहिरो खसेको स्थानीयले जानकारी दिएका छन् । राजमार्गको राम्दी नजिकै सेरामा माथिल्लो भागबाट बगेर आएको लेदोका कारण ट्रक नै फसेको ट्राफिक प्रहरीले जनाएको छ । पानी परिरहेकाले लेदो पन्छाउन समस्या भएको छ ।

आर्यभन्ज्याङ–रामपुर सडकको जब्गादी नजिकै पहिरो खस्दा सडक अवरुद्ध भएको रामपुर नगरपालिका–९, जब्गादीका वडाध्यक्ष डिलबहादुर रानाले जानकारी दिए । सेफद, जब्गादी, सिलुवा लगायतका स्थानमा पहिरो खसेको छ । रामपुर जाने सडक अन्तर्गत निस्दी गाउँपालिका–५, ढुंगानावेंसी नजिकैसमेत पहिरो खसेर शुक्रबारदेखि नै सडक अवरुद्ध भएको छ ।

तानसेनदेखि गुल्मी जाने सडकको ढुंगाखानी र सम्मोबारी नजिक पहिरो खसेर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । पाल्पाकै कालीगण्डकी करिडोर अन्तर्गत सिद्धार्थ राजमार्गको पिपलडाँडादेखि रामपुर जाने सडक अवरुद्ध भएको छ ।

कालीगण्डकी करिडोरअन्तर्गत पाल्पा रम्भा गाउँपालिका–२ र ३ को सिमाना सहर्दीखोला पुल नजिकै माथिल्लो भागबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिए । सडक अवरुद्ध हुँदा पाल्पाबाट अन्यत्र जिल्लाका लागि छुटेका र तराईतर्फ जाँदै गरेकाहरु सडकमै अलपत्र परेका छन् । सडक अवरुद्ध हुँदा सवारीसाधन बीचबाटोमै अलपत्र परेका छन् । सडकमाथिबाट पहिरो खस्ने क्रम जारी छ ।

सम्बन्धित् समाचार