पाल्पा ।
अविरल वर्षाका कारण पाल्पाका विभिन्न सडकखण्ड अवरुद्ध बनेका छन् । दुई दिनदेखि परेको वर्षाले सिद्धार्थ राजमार्ग, कालीगण्डकी करिडोर तथा विभिन्न सडकखण्ड बन्द छन् ।
सिद्धार्थ राजमार्गअन्तर्गत माथागढी गाउँपालिका–१ धैरेनी, बगनासकाली–४ सेरा र रम्भा गाउँपालिका–३ लसुने नजिकै पहिरो खसेको छ । यस्तै कालिगण्डकी करिडोरअन्तर्गत पाल्पाको रम्भा–२ र ३ को सिमानामा रहेको सहर्दीखोला पुल नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।
कालिगण्डकी करिडोरअन्तर्गतकै रामपुर नगरपालिका–१ स्याउली बजार र साँखर्दी खोलाको बिच भागमा पहिरो खसेपछि सडक अवरुद्ध भएको ज्ञानमन्जरी प्राविका प्रधानाध्यापक दानस मल्लले बताए ।
यस्तै पूर्वी पाल्पा जोड्ने आर्यभन्ज्याङ–जब्गादी–रामपुर सडकखण्डका विभिन्न स्थानमा पहिराले सडक अवरुद्ध छ । रामपुर जोड्ने सडक निस्दी–५, ढुङ्गानाबेँसी नजिकै पहिरो खसेको छ । सडक अवरुद्ध भएपछि यात्रु बीच बाटोमा अलपत्र छन् ।








