गृहपृष्ठ Featured लुम्बिनी प्रदेशसभामा गतिरोध कायमै !

लुम्बिनी प्रदेशसभामा गतिरोध कायमै !

रुपन्देही ।

सत्तापक्षले बजेटमा एकलौटी र पूर्वाग्रह राखेको भन्दै लुम्बिनी प्रदेश सभामा आज पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेको छ ।सदन नचलेपछि असार १ गते आएको बजेटमाथि अहिलेसम्म छलफल हुन सकेको छैन ।

एमालेले यसअघिका महत्त्वपूर्ण आयोजनाका बजेट र सांसदले पेश गरेका अत्यावश्यक योजना समेत कटौती गरेर बजेट ल्याएको भन्दै एमालेले विरोध जनाएको छ ।

प्रमुख प्रतिपक्षी दलका नेता लीला गिरीले सदनको सुरुमै बजेटका बारेमा धारणा राखेर बजेट पूर्वाग्रही, सतही, संघीयताको मर्म विपरीत, बेथिति निम्त्याउने र कार्यकर्ता पोस्ने खालको आएको भन्दै सच्याउनुपर्नेमा जोड दिएका थिए ।

बजेटको विरोधमा सत्तापक्षकै पनि कतिपय सांसदहरू देखिएपछि सरकारलाई हम्मे हम्मे परेको छ । सदन सुरु भएका दिनदेखि बजेटका बारेमा छलफल नै सुरु भएको छैन ।

सरकारले यसका लागि आवश्यक वातावरण नै बनाउन सकेको छैन । मुख्यमन्त्री डिल्ली चौधरी सदनको गतिरोध हल गर्नेतिर भन्दा जिल्ला दौडाहामा केन्द्रित भएको भन्दै सत्तापक्षकै सांसदले गुनासो गरेका छन् ।

लुम्बिनी प्रदेश सरकारले असार १ गते सदनमा बजेट प्रस्तुत गरेका थियो । आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले ४० अर्ब ४७ करोड ८९ लाखको बजेट प्रस्तुत गरेका थिए ।

सम्बन्धित् समाचार