कपिलवस्तु ।
कपिलवस्तुकाे विजयनगर गाउँपालिकाका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । कालोपत्रे सडक निर्माण गर्ने क्रममा सब-इन्जिनियर शिव कुमार बढईलाई दुर्व्यवहार अभद्र शब्द, गालीगलाैज गरि हातपात समेत गर्न खाेजिएकाे भन्दै गाउँपालिकाका कर्मचारी अन्दाेलनमा उत्रिएका हुन् । विजयनगर गाउँपालिका-३ मा मिलनचाेकदेखि अमलहवा जाेड्ने सडक कालाेपत्रे साइट हेर्ने क्रममा इन्जिनियर बढई माथि अभद्र व्यवहार भएकाे हाे ।
मंगलबार दिउँसो करिब ३ बजे इन्जिनियर बढईले कालोपत्रे बाटाे बनाउने क्रम जाँदा वडा नम्बर ३ का दिनानाथ चाैधरीकाे नेतृत्वमा कल्हैयालाल चाैधरीसहितकाे समुहले इन्जिनियरलाई दुर्व्यवहार गरेकाे नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष हरिहर बेल्बासेले जानकारी दिए।
संगठनका सचिव रवि प्रताप यादवले कर्मचारी माथि निन्दनीय कार्य भएकाे भन्दै दाेषीलाई कारवाहीकाे माग गर्न आन्दोलनमा उत्रिएको बताए ।
आन्दोलनरत कर्मचारीले राष्ट्रसेवक कर्मचारीलाई अभद्र व्यवहार गर्ने दाेषीलाई तत्काल कानुनी दायरामा ल्याई कारवाहीकाे माग गरेका छन् । कर्मचारीहरुले हातमा कालाेपाट्टी बाँधेर नारा लगाउँदै गाउँपालिका कार्यालय परिसरमा आन्दोलन गरेका हुन् । गाउँपालिकाका अति आवश्यक सेवा बाहेक सबै सेवा ठप्पसमेत गरेका छन् ।
गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले न्यायिक समितिमा निवेदन पेस गरिएको बताए । कर्मचारीलाई काममा फर्कन आग्रह गर्दै उक्त घटना बारे आवश्यक छलफल गरि घटनाको प्रकृति हेरी टुङ्गो लगाउने उनले बताए ।
इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक कृष्ण राना मगरले घटना बारे खाेज अनुसन्धान भइरहेको बताउँदै दाेषीलाई कारवाही गर्ने बताए । दाेषीहरु फरार रहेकाेले खाेजी कार्य भइरहेको उनले बताए ।








