पाल्पाको रिब्दिकोट गाउँपालिकाले गाउँमा बसेर काम गर्ने जनशक्ति अभाव हुन थालेपछि नयाँ कार्यक्रम ल्याएको छ। गाउँपालिका–१ को कार्यालयले दुईभन्दा बढी सन्तान जन्माउने अभिभावकलाई रु. पाँच हजार भत्ता दिने कार्यक्रम ल्याएको हो।
आगामी आर्थिक वर्ष ०८०/८१ देखि लागू हुने गरी वडामा दुईभन्दा बढी सन्तान जन्माउने अभिभावकलाई बच्चाको जन्मदर्ता गर्न वडा कार्यालयमा आउँदा रु. पाँच हजार प्रोत्साहनस्वरूप भत्ता दिने नीति तथा कार्यक्रममा समावेश गरिएको वडाध्यक्ष चिरञ्जीवी पोखरेलले बताए।
‘शिक्षा, स्वास्थ्य जस्ता अत्यावश्यक क्षेत्रमा राज्यले लगानी गरिदियो भने गाउँमा बसेका नागरिकले खेतीयोग्य जमिनमा खेती गरेर जीविकोपार्जन गर्न सक्छन्। पठनपाठन, स्वास्थ्योपचारमा राज्यले लगानी गरिदियो भने गाउँको जनशक्ति बाहिर जाने स्थिति आउँदैन,’ वडाध्यक्ष पोखरेलले भने।
वडाले ल्याएको उक्त कार्यक्रम गाउँसभामा पारित भएको छ। उनका अनुसार दुईभन्दा माथि जति सन्तान जन्माए पनि जन्मदर्ता गर्न आउने परिवारलाई प्रोत्साहन भत्ता उपलब्ध गराइनेछ।
यस वडामा ०७८ को जनंख्याअनुसार ६ सय १५ घरधुरी रहेको छ भने करिब दुई हजार जनसंख्या बसोवास गर्छन्। ०६८ को जनगणनाअनुसार वडामा दुई हजार तीन सय ३४ जनसंख्याको बसोवास रहेको वडा कार्यालयले जनाएको छ।
पालिकाभरिमा ०७८ को जनगणनाअनुसार १५ हजार जनसंख्या थियो भने ०६८ मा १८ हजार जनसंख्याको बसोवास रहेको थियो। एक दशकको अवधिमा तीन हजार जनसंख्या घटेका पालिकाले जनाएको छ।