दाङ ।
दाङको खेतीयोग्य जमिनमा सिँचाइ पुर्याउने उद्देश्यले सञ्चालनमा आएको ‘वृहत दाङ उपत्यका सिँचाइ आयोजना’ले पूर्वाधार निर्माणका कामलाई तीव्रता दिएको छ ।
२०७३ सालदेखि सञ्चालनमा आएको उक्त आयोजनाले अहिले सिँचाइका पूर्वाधार निर्माणलाई अघि बढाएको हो ।
‘अहिले कार्यालयको उद्देश्य दाङको ५६ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ पुर्याउने हो । सोही अनुरुप हामीले काम गर्न थालेका छौँ’, आयोजना प्रमुख विराट ज्ञवालीले भने ।
हाईड्याम्प, लिफ्ट, भूमिगत सिँचाइ प्रणाली, नयाँ प्रविधिमा आधारित सिँचाइ प्रणाली, डाईभर्सन, सतह सिँचाइ प्रणालीको विकासलगायत ‘कम्पोनेन्ट’मा काम गरिरहेको उनले जानकारी दिए ।
प्रमुख ज्ञवालीका अनुसार हालसम्म कार्यालयले ४२ वटा ठूला ड्याम (जलाशय) निर्माण गरेको छ । ‘हामीले अहिले ४२ वटा जलाशय निर्माण गरेका छौँ, यी जलाशयमा अझै पनि सिँचाइका लागि थप पूर्वाधार निर्माण गर्न बाँकी छ । सोही अनुसार काम भइरहेको छ’, उनले भने । उनका अनुसार यहाँ ड्याम निर्माण भएपछि किसान उत्साहित बनेका छन् ।
वर्षौँदेखि बाँझो रहेका जमिनमा सिँचाइ हुने भन्दै आकाशे पानीको भर पर्नुपर्ने अवस्था हट्ने तुलसीपुर उपमहानगरपालिका-१८ पिर्थली कुइरेसोता जलाशय सिँचाइ जल उपभोक्ता समितिका अध्यक्ष खिमबहादुर डाँगीले बताए ।