बुटवल ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा धान खेतमा हाँस र माछा पालन सुरू भएको छ । तिलोत्तमा-१० उद्यमशील टोलका २६ परिवारले करिब २ बिघा खेतमा हाँस र ६ परिवारले १० कठ्ठा खेतमा माछा पालन शुरु गरेका हुन् ।
स्थानीय इन्नोभेसन कृषि फर्मको अगुवाईमा टोलवासीको २० प्रतिशत र जिल्ला भेटनरी अस्पतताल तथा पशु सेवा केन्द्र रुपन्देहीको ८० प्रतिशत लागत साझेदारी रहेको छ ।
तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खांणले हाँसलाई धान खेतमा छाडेर कार्यक्रम शुभारम्भ गरेका छन् । सो अवसरमा बोल्दै नगरप्रमुख खांणले सरकार र समुदायको साझेदारीमा धान खेतमा हाँस र माछा पालन सम्भवतः नेपालमै पहिलो कार्यक्रम भएको बताए ।
यसले धानको उत्पादन वृद्धि, एउटै खेतबाट धान वाहेक हाँस र र माछाको आम्दानी लिन सकिने र प्रांगारिक खेती गर्न प्रेरित गर्ने बताए ।
हाँस पालनसँगै हाँसको मासु र अण्डा विक्रिका लागि पसल सञ्चालन गर्न सटर भाडा नगरपालिकाले तिरिदिने र बजारिकरणमा सहयोग गर्ने उनले प्रतिवद्धता जनाए ।
सिंगो तिलोत्तमालाई प्रांगारिक नगर बनाउन अध्ययन भइरहेको भन्दै खांणले विषादीरहित प्रांगारिक खेतीमा लाग्न नगरवासीलाई आग्रह गरे ।