गृहपृष्ठ कपिलवस्तु बिशेष तलब नलिने कपिलवस्तुका एकमात्र वडाध्यक्ष सारु : ‘कम बोल्ने धेरै काम गर्ने’

तलब नलिने कपिलवस्तुका एकमात्र वडाध्यक्ष सारु : ‘कम बोल्ने धेरै काम गर्ने’

सागर वि.क., वैखरी अनलाईन ।

तलव नलिने कपिलवस्तु जिल्लाको एक मात्र वडाध्यक्ष हुन् बाणगंगा नगरपालिका वडा नम्बर १ अध्यक्ष सन्जु कुमार सारु । चुनावी प्रचारप्रसारकै समयमा तबल नलिने घोषणा गरेका सारु वि.स. २०७९ साल वैशाख ३० मा सम्पन्न स्थानीय तहको निवार्चनबाट वडाध्यक्षमा निर्वाचित हुन सफल भए । उनी अहिले कम बोल्ने धेरै काम गर्ने वडाध्यक्षका रुपमा परिचित छन् ।

आफ्नो ५ बर्षे कार्यकाल वडाका जनताको सेवामा समर्पित गर्ने उनको अठोट जीवन्त छ । उनी हरेक दिन जनताको घरदैलोमा पुग्ने गरेका छन् । फुर्सद मिल्यो कि वडाभित्रका विभिन्न गाउँका व्यक्तिहरुको अवस्था बुझ्न उनी व्यस्त हुन्छन् । वडावासीको समस्यालाई नजिकबाट नियाल्न आफु दैनिकजसो हरेक गाउँमा जाने गरेको उनले बताए । जसले वडावासीको आवश्यकतालाई औल्याउन सजिलो हुने उनको भनाई छ ।

‘म वडाका प्रत्येक गाउँसंग राम्रोसंग परिचित छु । अब वडावासीको समस्याको समाधानका प्रयासहरुको खोजीका लागी दैनिक जसो वडावासीसंगै हुन्छु, जसले मलाई पुर्ण सन्तुष्टि प्रदान गर्छ,’ उनले भने ।

गाउँघरमा जादाँ वडावासीले विभिन्न विकास पुर्वाधारहरुबारे गुनासो गर्दै सुधारको लागी सल्लाह सुझाव दिने गरेको उनले बताए । वडाध्यक्ष सारुले उनीहरुको सल्लाह सुझावबाटै आफुलाई आगामी दिनमा कसरी अगाडि बढ्दाँ वडावासीको अपेक्षा आवश्यकता परिपुर्ति गर्न सकिन्छ भन्ने बारे मागदर्शन प्रदान गर्ने बताए । आफु वडावासीको शासक नभई सेवक बन्न वडाध्यक्ष भएको उनले बताए । वडाध्यक्ष सारुले आफ्नो कार्यकालको पहिलो बर्ष सफल भएको दाबी गरेका छन् ।

शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत र सडक पुर्वाधार जस्ता क्षेत्रमा प्राथमिकता दिदैं उनले काम गरेको बताएका छन् । आर्थिक बर्ष २०७९/८० का अधिकांश निति तथा कार्यक्रम सफलता पुर्वक सम्पन्न गरेको उनले बताए । अब आर्थिक बर्ष २०८०/८१ का लागी तर्जुमा गरिएका कार्यक्रमलाई समयमै सम्पन्न गर्ने गरि योजनाबद्ध ढङ्गबाट आगाडि बढिरहेको उनको भनाई छ ।

विद्युत विस्तारमा एक लाख, गुरुकुल विद्यालयमा एक लाख ४४ हजार, वडामा सिसिटिभि जडानमा एक लाख ४३ हजार, विभिन्न विपन्न परिवारमा मृत्यु भएको समयमा ४५ हजार, विभिन्न धार्मिक स्थलमा एक लाख, शिक्षामा ३५ हजार, स्वास्थ्यमा ५० हजार, बाटो मर्मतमा २५ हजार, वडाका जनप्रतिनिधि कर्मचारीको अध्ययन अवलोकन भ्रमणमा ५५ हजार र विपद व्यवस्थापनमा १५ हजार खर्च भएको उनले जानकारी दिए ।

वडाध्यक्ष सारुले वडाध्यक्षको तलबबापत आएको रकमबाट सामाजिक काम गर्ने योजना रहेको र अब केही दिनमै उक्त योजना अनुसार काम सम्पन्न गर्ने समेत बताए ।

सम्बन्धित् समाचार