पाल्पा ।
तानसेन नगरपालिका–२, नारायणस्थानस्थित अमर नारायण मन्दिरका पुजारी फणिराज लम्सालमाथि हातपात गर्ने युवा पक्राउ परेका छन् ।मन्दिरमा गएका तानसेन नगरपालिका–१, गैरागाउँका २८ वर्षीय शिशिर बराइले गुल्मी जिल्ला मालिका गाउँपालिका–७, घर भई अमरनारायण मन्दिरमा पुजारीको रुपमा रहेका लम्सालमाथि हातपात गरेका हुन् ।
मूल मन्दिरभित्रै जबर्जस्ती प्रवेश गर्न खोज्दा रोक्ने क्रममा पुजारी लम्साललाई हातपात गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए । मन्दिर व्यवस्थापन समितिले मुख्य मन्दिरभित्र पुजारीबाहेक कोही पनि जान नपाउने व्यवस्था रहेको जनाएको छ ।
पुजारीबाहेक कसैलाई पनि अनुमति नभएको स्थानमा प्रवेश गर्न खोज्दा ती युवकलाई पुजारीले रोकेका थिए । रोक्न खोज्दाखोज्दै युवकले आफूमाथि हातपात गरेको पुजारी लम्सालले प्रहरीमा दिएको जाहेरमा उल्लेख छ ।
उनलाई अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।