रुपन्देहीका मुख्य सहरमा विद्युत् पोलमा जथाभावी टाँगिएका विभिन्न सेवा प्रदायक कम्पनीका तारहरू व्यवस्थित बनाउन स्थानीय तहहरूले धमाधम काम गरेका छन् ।
सहर कुरूप बनाउने र विद्युत् सर्ट हुँदा आगलागीको समेत खतरा भएपछि बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर नगरपालिका र तिलोत्तमा नगरपालिकाले पोलमा टाँगिएका इन्टरनेट, केवल कम्पनी, टेलिकमका तार काट्न सुरु गरेका छन् ।
सम्बन्धित पालिकाले सेवा प्रदायक कम्पनीलाई तार व्यवस्थापन गर्न समयसीमा सहित निर्देशन दिएका छन् । तोकिएको समयभित्र तार व्यवस्थापन नगरे पालिकाले नै काट्ने काम गर्दै आएको जनाइएको छ ।
बुटवलका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले सर्वपक्षीय बैठक बसेर तार व्यवस्थापनका लागि नेपाल विद्युत् प्राधिकरण बुटवल वितरण केन्द्रका प्रमुखको संयोजकत्वमा कार्यदल बनाएको जानकारी दिए । उक्त कार्यदलले रुपन्देहीका विभिन्न स्थानीय तहमा तार व्यवस्थापनको काम गरेको छ ।
तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाण आफैँले विद्युतको पोलमा चढेर केही अनावश्यक तार हटाउने काम गरेको सुरुवात गरेका थिए । नगर प्रमुख खाणले पोलहरूमा जथाभाबी टाँगिएका तारले नगरलाई कुरूप बनाएको मात्र नभई आगलागी र दुर्घटनाको जोखिम समेत निम्त्याएकाले व्यवस्थित बनाउन थालिएको बताए ।