राजेन्द्र खनाल, कपिलवस्तु ।
कपिलवस्तुमा केही दिनदेखि गर्मी बढेसँगै आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएको छ । मौसम परिवर्तन भएसँगै आँखा पाक्ने रोगको प्रकोप बढेको आँखा रोग विशेषज्ञहरूले बताएका छन् ।
बिरामीको आँखामा सङ्क्रमण बढ्दै जाँदा थप समस्या आउने भएकाले समयमा ध्यान दिन स्वास्थ्यकर्मीहरूले सुझाव दिएका छन् । आँखा पाक्ने रोगबाट बढी विद्यार्थी र शिक्षक प्रभावित भएका छन् । बर्खाको समयमा सक्रिय हुने एडिनो भाइरस हावामा लामो समयसम्म बाँच्ने भएकाले आँखा पाक्ने रोगको सङ्क्रमण बढी हुने विज्ञहरू बताउँछन् ।
सङ्क्रमण विभिन्न कारणले हुने हुँदा सम्बन्धित अस्पतालमै गएर जाँच गराउनुपर्छ, आँखाको भाइरल एउटा परिवारमा देखिए सबैमा सर्न सक्ने भएकाले सरसफाइमा ख्याल गर्नुपर्छ । ढिला गरी उपचारमा आउँदा आँखाको नानीमा घाउ हुन्छ, त्यसले सधैँका लागि दृष्टि गुम्न पनि सक्छ । समयमा उपचार गरे तीन÷चार दिनभित्र निको हुन्छ ।
आँखामा समस्या देखिएको भए हातले आफ्नो आँखा नछुने, आफ्नो हात बारम्बार साबुन पानीले धुने, दैनिक सफा तौलिया र धुने कपडा प्रयोग गर्ने, तौलिया वा धुने कपडा साझा नबनाउने गरेमा रोग फैलन पाउँदैन । सन्क्रमित ब्यक्तिको कन्ट्याक्ट् बाट टाढा बस्ने, संक्रमित भैहाले स्वास्थ्यकर्मी लाई जांच गराउन चिकित्सकको सुझाव छ ।