काठमाडौं ।
त्रिभुवन विश्वविद्यालयले स्नातक तहको प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोध्ने गरी तयारी गरेको छ।
परीक्षामा प्रश्नपत्र अङ्ग्रेजी माध्यममा सोधिने र अधिकांश क्याम्पसमा नेपाली माध्यमबाट पढाइ हुने हुँदा विद्यार्थीलाई सहज नभएको आवाज उठेपछि विश्वविद्यालयले सोको तयारी गरेको उपकुलपति डा. धर्मकान्त बाँसकोटाले बताए।
‘स्नातक तहमा आगामी शैक्षिकसत्रदेखि दुवै भाषामा प्रश्नपत्र बनाउने गर्ने सोच बनाएका छौँ। यसबारे अध्ययन गरिरहेका छौँ तर नेपालीका साथै मातृभाषामा पनि प्रश्न सोध्नुपर्छ भन्ने सवाल आएमा कसरी समाधान गर्ने भन्ने हाम्रो सरोकारको विषय बन्नेछ’, उपकुलपति बाँस्कोटाले प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको शुक्रबारको बैठकमा सांसद्को प्रश्नको जवाफ दिँदै भने, ‘अन्तर्राष्ट्रिय मान्यताअनुसार अङ्ग्रेजी भाषामा प्रश्न बनाउनै पर्ने हुन्छ। त्यसमा नेपाली भाषा थप्न सकिन्छ तर हरेक मातृभाषापिच्छे प्रश्न सोध्न सकिँदैन।’
मुलुकका १२३ मातृभाषा बोलिन्छ।
तीन लाख ४७ हजार २६९ विद्यार्थी अध्ययन गरिरहेको मुलुकको ठूलो विश्वविद्यालयमा एक हजार १२४ सम्बन्धनप्राप्त र ६२ आंगिक क्याम्पस छन् ।