वैखरी अनलाईन, बुद्धभूमि ।
राष्ट्रिय दलित पत्रकार संघ कपिलवस्तु शाखाको बैठक विभिन्न महत्वपुर्ण निर्णय गर्दै सम्पन्न भएको छ । शनिबार कपिलवस्तुको बुद्धभूमि नगरपालिका- ९ डुमरामा संघको नियमित बैठक सम्पन्न भएको हो । बैठक संघका अध्यक्ष शम्भु विकको अध्यक्षता र कपिलवस्तु क्षेत्र नं.२ ‘क’ प्रदेश सभा सदस्य नवराज लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । बैठकमा प्रदेश सभा सदस्य लामिछाने र संघका पदाधिकारीबीच परिचयात्मक कार्यक्रम गरिएको थियो ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य लामिछानेले २१ औं शताब्दिमा पनि मानिस मानिसबीच पनि कायम विभेद हुनु दुखद भएको बताए । उनले समाजमा हुने विभिन्न किसिमका विभेदका अन्त्यका निम्ति सचेतना आवश्यक भएको बताउँदै भने, ‘सबै मिलेर नै विभेदको जरालाई तल्लोस्तरबाटै नै निर्मुल पार्नुपर्छ, यसका लागी सबै मिलेर हालेमालो गरौं ।’
उनले राष्ट्रिय दलित पत्रकार संघ कपिलवस्तु शाखालाई आवश्यक साथ सहयोग गर्ने प्रतिवद्धता समेत जनाए ।
बैठकले संघद्धारा संचालित हुने तिलौराकोट अनलाईन दर्ताको प्रक्रियालाई तीब्र गतिमा अगाडि बढाउने निर्णय गरेको छ भने नियमित बैठकमा लगातार ३ पटकसम्म उपस्थित नहुने पदाधिकारीलाई कार्य समितिबाट हटाई साधारण सदस्यमा सिमित गर्ने निर्णय गरेको अध्यक्ष शम्भु विकले जानकारी दिए ।
उनका अनुसार बैठकले संघको आयोजनामा छन्द कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगंजसंग समन्वय गरि आँखा शिविर गर्ने निर्णय गरेको छ । यस्तै बैठकले कपिलवस्तुका १० वटै स्थानीय तहमा पुगेर दलित अगुवाहरुको उपस्थितिमा दलित समुदायको समग्र अवस्था बुझने निर्णय गरेको छ ।
उक्त बैठकलाई सम्बोधन गर्दै आमन्त्रित सदस्य सोही स्थानकी दलित अगुवा सुन्दरी विकले स्थानीय स्तरमा अझै पनि विभिन्न वाहनामा विभेद कायम रहेको बताएकी थिईन् ।
उनले विभिन्न विवाह, पुजा, ब्रतबन्धहरुमा दलित समुदायका व्यक्तिहरुलाई विभेदको दृष्टिकोणले हेरिएको र छुट्टै स्थानमा खानपिन गराउने गरेको सुनाईन् । उनले जातीय अन्त्यको लागी सबैलाई सचेत गर्दै एकजुट भएर लाग्न आवश्यक रहेको बताईन् ।
संघका अध्यक्ष शम्भु विकको अध्यक्षता र कपिलवस्तु क्षेत्र नं.२ ‘क’ प्रदेश सभा सदस्य नवराज लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त बैठकमा उपाध्यक्ष दिपिका सुनार, धनिराम कोरी, सचिव सागर विक र कार्यसमिति सदस्य शेम्ला विकको उपस्थिति रहेको थियो ।