रुपन्देही ।
एक सय दिन पुगेको अवसरमा लुम्बिनी प्रदेश सरकारले उपलब्धिहरू सार्वजनिक गर्दैछ । आइतबार पत्रकार सम्मेलन गर्दै उपलब्धि सार्वजनिक गर्न लागेको हो ।
दिउँसो ३ बजे प्रदेश राजधानी देउखुरीमा पत्रकार सम्मेलन गरेर मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उपलब्धि सार्वजनिक गर्न लागेका हुन् ।
सरकार गठनको एक सय दिन पुग्दा पनि मुख्यमन्त्री चौधरीले सरकारलाई पूर्णता दिन सकेका छैनन् । सरकार पूर्णता दिन नसकेको, मुख्यमन्त्री र तीन मन्त्रालय आफैंले राखेर चलाइरहेको आरोप लागेका बेला चौधरीले उपलब्धि सार्वजनिक गर्न थालेका हुन् ।
लुम्बिनी प्रदेशमा १० मन्त्रालय मध्य ७ जना मात्र मन्त्री छन् । उनी मुख्यमन्त्रीमा नियुक्त भएपछि लुम्बिनी प्रदेशमा सरकारको नीति कार्यक्रम ल्याउने, बजेट ल्याउने र स्वास्थ्य संस्था नवीकरण, संचालन तथा व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको संशोधन विधेयक प्रदेश सभाबाट पारित भएको छ । त्यस बाहेक निजामती कर्मचारी सम्बन्धी विधेयक प्रदेश सभामा दर्ता भएर छलफलमा छ ।
अन्य उपलब्धिमुलक कार्य नभए पनि मुख्यमन्त्री चौधरीले प्रदेश राजधानीमा निर्माणाधीन सरकारका मन्त्रालयका भवन, कर्मचारी व्यवस्थापन, केही कार्यविधि र केही मापदण्डलाई सरकारको मुख्य उपलब्धिका रुपमा सार्वजनिक गर्दैछन् ।








