रुपन्देही ।
सिद्धार्थ राजमार्ग अन्तरगत पाल्पा सडकको सिद्धबाबामा सडकमाथिबाट ढुङ्गा खसेर जीपमा लाग्दा ३ जना घाइते भएका छन् । तिनाउ गाउँपालिका वडा नम्बर ३ सिद्धबाबा नजिकै हेड बक्सनिर गुडिरहेको जीपमाथि ढुङ्गा खसेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।
यो सिद्धबाबा सुरूङमार्गको माथिल्लो रिप नजिकैको भाग हो ।
बुटवलदेखि पाल्पातर्फ जाँदै गरेको अवस्थामा माथिबाट एक्कासि ढुङ्गा खस्दा लु २ च २८४९ नम्बरको जीपमाथि खस्दा चालकसहित ३ जना घाइते भएका हुन् ।
सडक भने हाल सुचारु नै रहेको ट्राफिक प्रहरीले जनाएको छ । सुरूङमार्गका दुवै तर्फका मुख्य द्वार यसअघि नै पहिरोले पुरिसकेको छ भने दुवै तर्फ माथिबाट पहिरो झरिरहेको छ ।
प्राविधिकको सल्लाहबिना ठेकेदार कम्पनीले वर्षाको समयमा काम थालेकाले बढी क्षति भएको आयोजना कार्यालयले जनाएको छ ।








