काठमाडौं ।
नेकपा एमालेको अवरोधका कारण बुधबार पनि राष्ट्रियसभाको बैठक प्रभावित भएको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने भन्दै एमाले सांसदहरूले उठेर विरोध जनाएपछि कार्यसूचीमा प्रवेश नगरी बैठक स्थगित भएको हो ।
एमाले सांसदले बैठकको आकस्मीक समयमा बोल्ने क्रमम भने अवरोध गरेका थिएनन् । आकस्मीक समयपछि अन्य कार्यसूची अघि बढाउन खोज्दा एमाले सांसदहरूले विरोध जनाएका हुन् । एमाले सांसदले उठेर विरोध जनाएपछि सत्ता पक्षका सांसदले सहजरुपमा सभा सञ्चालन हुनुपर्ने र सबैले बोल्न पाउनुपर्ने भन्दै विरोध गरेका थिए ।
त्यसअघि बैठकमा एमाले सांसद बिमला घिमिरेले सुन प्रकरणमा सरकारको छानबिन समितिले अनुसन्धानलाई निष्कर्षमा पुराउन नसक्ने भएकाले उच्चस्तरीय छानबिन आयोग गठन हुनुपर्ने जिकिर गरे। सांसद घिमिरेले सत्तापक्षकै सांसदले सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीको संलग्नता रहेको र अनसन बस्छु भनेर बोलेको धारणा राखेपछि कांग्रेस सांसद रमेशजंग रायमाझीले आपत्ती जनाएका थिए। रायमाझीले बोल्दै नबोलेको कुरालाई प्रतिपक्षीले आरोप लगाएको भन्दै रेकर्ड खोलेर हेर्न माग गरे।
सत्तपक्ष र प्रतिपक्षी सांसदबीच वाद–प्रतिवाद भएपछि राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले सहज रुपमा बैठक सञ्चानल गर्न आग्रह गरेका थिए। एमाले सांसदले अवरोधलाई निरन्तरता दिएपछि राष्ट्रियसभाको अर्को बैठक साउन २६ गतेसम्मका लागि स्थगित गरिएको छ।








