बुटवल ।
नेपाली कांग्रेसकी नेतृ एवं पूर्वउपसभामुख पुष्पा भुसालले प्रतिपक्षी दल नेकपा एमालेले संसद्लाई बन्धक बनाइरहेको टिप्पणी गरेकी छन् ।
नेतृ भुसालले भ्रष्टाचार प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राख्दै केही दिनयता संसद अवरुद्ध गर्नाले संसद् बन्धक बनिरहेको पुष्टी भएको बताइन् ।
बुटवलमा बुधबार आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रमुख प्रतिपक्षी दल जिम्मेवार बन्नुको सट्टा केन्द्रीय राजनीतिलाई उथलपुथल गराउँदै आएको दाबी गरिन् ।
पहिले पनि एमालेले गणतन्त्र र संसद्माथि प्रहार गरेको तर प्रणालीलाई बचाउन गठबन्धन गरिएको नेतृ भुसालले बताइन् । वर्षा, बाढीपहिरो, चरम महंगी लगायतले जनजीविकाको अवस्था दयनीय बन्दै गएका बेला संसद्बाट समाधान निकाल्नुपर्ने बेलामा एमालेले संसद् अवरुद्ध गर्नु उपयुक्त नभएको उनको भनाइ थियो ।
यसले लोकतान्त्रिक प्रणालीलाई कतै कमजोर बनाउन चाहेको त होइन भन्ने आशंका र प्रश्नहरु उठिरहेको भुसालले बताएकी थिइन् ।








