गृहपृष्ठ Featured मेयर शाहको सक्रियताले सफा देखिन थाल्यो कृष्णनगर

मेयर शाहको सक्रियताले सफा देखिन थाल्यो कृष्णनगर

 वैखरी अनलाइन , कृष्णनगर ।

सरसफाइको दृष्टिकोणबाट निकै कमजोर देखिएको कपिलवस्तुको कृृष्णनगर नगरपालिका अहिले सफा देखिन थालेको छ । नगरपालिकाले फोहोर व्यवस्थापनलाई तीब्र ढङ्गले अगाडि बढाएसँगै कृष्णनगर सफा देखिन थालेको हो । कृष्णनगरमा जनप्रतिनिधिसंगै स्थानीयवासी आआफ्नो बस्तीको सरसफाइमा जुटेको नगरप्रमुख रजत प्रताव शाहले बताए । उनले नगरपालिकालाई सफा, सुन्दर र हरियाली बनाउन ‘सरसफाइ अभियान’ नै संचालन गर्ने तयारी रहेको बताए ।

नगरवासीलाई आफ्नो गाउँघर सरसफाइका लागी जिम्मेवार बनाउँदै सुन्दर कृष्णनगर बनाउने योजना रहेको उनको भनाई छ । उनले हात हातमा कुचो लिएर गाउँघर र सार्वजनिक स्थानको सरसफाइमा लागेर सफा, सुन्दर नगरपालिका बनाउने दाबी गरे । उनले कृष्णनगरलाई हेर्ने दृष्टिकोण बदल्न आफु लागी परेको जिकिर गरे । ‘सरसफाइको क्षेत्रमा व्यवस्थित तवरले अघि बढेपछि पछिल्लो समय कृष्णनगरलाई छिमेकीले हेर्ने दृष्टिकोणमा परिवर्तन आएको महसुस भएको छ,’ उनले भने ।

नगरपालिकाले कृष्णनगरको सुन्दरीकरणको लागी विशेष कार्यक्रम ल्याउने तयारी गरिरहेको उनले बताए ।

कृष्णनगरका मुख्य बजार क्षेत्रलाई लक्षित गरि सफाइ अभियानको थालनी गरिने उनले बताए । नगर प्रमुख शाहले कुनै पनि ठाउँको पहिचान भनेको सफाइ भएको बताए । बाहिरबाट आउने जो कोहीले झट्ट हेर्दा जताततै फोहोर देखे भने उनीहरूमा नकारात्मक असर पर्ने उनको भनाई छ ।

नगरपालिकाको विकास र समृद्धिका लागि आफूहरू योजनाबद्ध रूपमा लागेको बताउँदै उनले भने, ‘मन्दिर, मज्जिद र सार्वजनिकस्थलको सरसफाईसंगै छाडा चौपाया नियन्त्रण गर्ने अभियानलाई पनि तीव्रता दिएको छ ।’

सम्बन्धित् समाचार