काठमाडौं । नेपाल विद्युत प्राधिकरणले राष्ट्रिय प्रसारण प्रणालीको विद्युतमा ९५ प्रतिशत नेपालीको पहुँच पुगेको दावी गरेको छ । दुई वर्षअघि राष्ट्रिय प्रसारण प्रणालीको विद्युतमा ८९ प्रतिशत नागरिकको पहुँच थियो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दुई वर्षमा ६ प्रतिशत जनतामा राष्ट्रिय प्रशारण प्रणालीको विद्युत विस्तार भएको बताएका हुन् ।
प्राधिकरणका अनुसार मधेश, बागमती र गण्डकी प्रदेशमा पूर्ण विद्युतीकरण भएको छ । कोशीमा ९५, लुम्बिनीमा ९८, कर्णालीमा ६७ र सुदूरपश्चिम प्रदेशमा ८२ प्रतिशत विद्युतीकरण भएको प्राधिकरणको दाबी छ ।
देशका ५०५ स्थानीय तहमा पूर्ण विद्युतीकरण भएको प्राधिकरणले जनाएको छ । दुई वर्षअघि प्रतिव्यक्ति २३५ युनिट रहेकोमा अहिले बढेर ३८० युनिट पुगेको छ । ५० केभीएसम्मको लोड प्रविधिकरणको ट्रान्सफर्मरबाट प्रसारण गराइने प्रावधानलाई संशोधन गरी १०० केभीएसम्मको लोड प्रशारण गराइने व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले सन् २०५० सम्ममा हुने विद्युतको माग प्रक्षेपण गरी चरणबद्ध रुपमा संघीय राजधानीसहित देशका प्रमुख ११ शहरको ४००, २२० र १३२ केभीका प्रसारण लाइन तथा सबस्टेशनहरुको निर्माण अगाडि बढाएको छ ।
लामो समयदेखि अलपत्र रहेका विद्युत प्रसारण र वितरणतर्फका केही आयोजनाहरुको ठेक्का सम्झौता रद्द गरी नयाँ ठेक्का लगाइएको प्राधिकरणले जनाएको छ ।








