कपिलवस्तुबाट नक्कली साधु बनेर ठगी गर्दै हिँड्ने एक गिरोहलाई पक्राउ गरिएको छ । कपिलवस्तु नगरपालिका अन्तर्गत वडा नम्बर ११ बाट ३ जना साधुलाई अस्थायी प्रहरी पोष्ट जहदीले शुक्रबार विहान नियन्त्रणमा लिएको हो ।
नक्कली भेष धारण गरेर धर्मको नाममा ठगीधन्दा चलाएको स्थानीयको भनाईको आधारमा नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ । अहिले उनीहरुलाई इलाका प्रहरी कार्यालय पिपराले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
उनीहरुको साथबाट भारत सरकारले प्रदान गरेको आधार कार्ड पनि भेटिएको छ । स्थानीय पुजारी जित बहादुर कुर्मीका अनुसार ती साधु साधु नभएर नक्कली गेरु वस्त्र धारण गरेको ठग रहेका छन् । गाउँगाउँमा पसेर धर्मको नाममा बिभिन्न डर सिर्जना गरी १०, १५, २० हजारका दरले गठ गर्ने, फुकफाक गरी तपाईको सम्पत्ति २ गुणा बनाइदिन्छु लगायतका भ्रम छरेर गठी गरेको सुनिएको कुर्मी बताउँछन् । उनका अनुसार उनीहरु नाथ समुदायका हुन् ।