वैखरी अनलाईन, बुद्धभूमि ।
जिल्लाको बुद्धभूमि नगरपालिका- ४ शैक्षिक गुणस्तर सुधारमा गम्भिरका साथ अघि बढेको छ । प्राप्त नतिजाले शिक्षाको गुणस्तर खस्किएको देखाएकाले वडा सुधारका लागी गम्भिरका साथ अघि बढेको वडाध्यक्ष सुशील कुमार चौधरीले वैखरीलाई बताए ।
शिक्षा नै विकासको मेरुदण्ड भएकाले शिक्षाको गुणस्तरियतालाई सकारात्मकतातर्फ लानुपर्ने उनको भनाई छ । त्यसका लागी वडा भित्रका सामुदायिक विद्यालयका प्रअ, व्यवस्थापन समितिका पदाधिकारी, वडा शिक्षा समितिका पदाधिकारीहरुबीच गहन अन्तरक्रिया गरिदैं आएको उनले बताए । उनका अनुसार शैक्षिक गुणस्तर सुधारको लागि शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति र वडा शिक्षा समितिको भूमिका, रणनैतिक योजना तथा वार्षिक कार्यक्रमका बारेमा छलफल गरिएको हो ।
गुणस्तरीय शिक्षा हरेक शैक्षिक बहसको मुख्य विषयवस्तु भईरहेकाले ठोस योजना र कार्यनीति प्रस्तुत गरेर वडा अघि बढेको उनले दाबी गरे ।
उनले शिक्षालाई संविधानले मौलिक हक अन्तर्गत राखेको अवस्थामा सार्वजनिक शिक्षा सुधारका लागि सबै गम्भिर हुनुपर्ने बताए । ‘वडाले शिक्षालाई मुख्य प्राथमिकता दिएको छ । शिक्षालाई संविधानले मौलिक हक अन्तर्गत राखेको छ । त्यसैले पनि यसको सुधारका निम्ति वडा गम्भिर भएर लागेको छ ,’ उनले भने ।
उनले सरोकारवालाहरुको सल्लाह, सुझावबाट प्राप्त मार्गचित्रको अध्ययन गरि आवश्यक कार्यक्रम निर्धारण गर्दै कार्यान्वयनका लागि आवश्यक योजना निर्माण गरेर अघि बढ्ने प्रतिवद्धता जनाए ।
उनले शिक्षामा सकारात्मक नतिजा प्राप्त गर्न नसक्दाँसम्म वडावासीको जीवनस्तरमा अपेक्षित सुधार ल्याउन नसकिने बताए ।
सो कार्यक्रममा उनीहरुले शैक्षिक गुणस्तर सुधार गर्न अभिभावकमा चेतनाको स्तर बढाउनुपर्नेमा जोड दिएका थिए । अभिभावकले विद्यार्थीलाई नियमित विद्यालय पठाउनुका साथै घरमा पढाउनु पर्नेमा उनीहरुको भनाई छ ।