नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवी साहले आमनागरिकलाई सहज ढंगले सेवा प्रवाहको कामलाई आफूले पहिलो प्राथमिकता दिने बताएकी छिन्।
सोमबार शीतलनिवासमा राष्ट्रपतिबाट शपथ लिएलगत्तै सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्दै उनले यस्तो बताएकी हुन्। सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै नवनियुक्त मन्त्री साहले आमनागरिकको लागि मन्त्री पदको जिम्मेवारी लिएकाले संविधानले दिएको जिम्मेवारीअनुसार आफू अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन्।
‘आमनागरिकलाई सहज ढंगले सेवा प्रवाह हामीले कसरी दिनसक्छौँ ? त्यही नै मेरो पहिलो प्राथमिकता हुन्छ । आमनागरिकको तर्फबाट हामी यहाँ आएका छौँ । पार्टीको कुरा यसमा आएन । संविधानअनुसार हामी कसरी सुलभ तरिकाले सेवा प्रवाह गर्न सक्छौँ, त्यसमा लाग्ने हो,’ उनले भनिन्।