स्पेनले उपाधि दाबेदार स्विडेनलाई २–१ ले स्तब्ध पार्दै मंगलबार नवौँ फिफा महिला विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेको छ । स्पेन पहिलोपटक उपाधि भिडन्तमा प्रवेश गरेको हो ।
पहिलो ६ संस्करणमा स्थान बनाउन नसकेको स्पेन सन् २०१५ देखि विश्वकप खेलिरहेको छ । न्युजिल्यान्डको अकल्यान्डस्थित इडेन पार्कमा भएको खेलमा स्पेनलाई ऐतिहासिक फाइनल स्थानमा पुर्याउने क्रममा साल्मा पारालुएलो र ओल्गाले एक–एक गोल गरेका थिए । स्विडेनकी रेविकाले एक गोल फर्काइन् । अब स्पेनले बुधबार हुने दोस्रो सेमिफाइनलमा अस्ट्रेलिया र इंग्ल्यान्डबीचको विजेताविरुद्ध उपाधि भिडन्तमा प्रतिस्पर्धा गर्नेछ ।
खेलको ८०औँ मिनेटसम्म स्विडेन र स्पेनले गोलरहित बराबरी खेलेका थिए । अस्वाभाविक रूपमा स्पेनले स्विडेनमाथि दबाब राखेको थियो । स्पेनले ६३ प्रतिशत र स्विडेनले ३७ प्रतिशत बल पोसेसन बनाएको थियो । स्विडेनविरुद्ध स्पेनले निकै आक्रामक खेल प्रस्तुत गर्यो । स्पेनले विपक्षी पोस्टमा १३ पटक गोल प्रयास गर्यो । स्विडेनले केवल ६ पटक मात्र पोस्ट चार्ज गरेको थियो । काउन्टर र एट्याकिङ खेल खेले पनि स्पेनले स्विडेनको डिफेन्स तोड्न ८१ मिनेटसम्म प्रतिस्पर्धा गर्यो । खेलको ८१औँ मिनेटमा साल्माले स्पेनलाई १–० को अग्रता दिलाइन् । जेनिरफर हर्माेसोको प्रहारलाई नाभारो र एन्डरसनले छेकेकी थिइन् । रिबाउन्ड भएको बलमा साल्माले सहजै गोल गरिन् ।
स्विडेनले सात मिनेटभित्र नै १–१ को बराबरी गोल फर्काउन सफल भयो । खेलको ८८औँ मिनेटमा रेविकाले स्विडेनलाई बराबरीमा पुर्याइन् । उनले लिनाको पासमा गोल गरेकी हुन् । स्विडेनले बराबरी केवल एक मिनेट मात्र कायम गर्यो । अर्कोतिर, आकर्षक मुभ र पास खेलेको स्पेनले बराबरी गोलको एक मिनेटभित्र नै २–१ को अग्रता लियो । ओल्गाले खेलको ८९औँ मिनेटमा स्पेनलाई २–१ को अग्रता दिलाइन् । उनको यही गोलले नै स्पेन पहिलोपटक फाइनलमा पुग्यो । स्विडेन सन् २००३ पछि दोस्रोपटक फाइनल पुग्ने संघारमा थियो । स्विडेन सन् १९९१, २०११ र २०१९ मा सेमिफाइनलबाट बाहिरिएको थियो ।
शक्तिशाली बन्दै स्पेन
समूह चरणको विश्लेषण गर्दा स्पेनको प्रदर्शन फितलो थियो । समूहमा स्पेन जापानसँग ४–० ले पराजित भएको थियो । चालू विश्वकपअघिका संस्करणमा स्पेनले केवल सात खेलमा मात्र जित निकालेको थियो । नवौँ संस्करणको महिला विश्वकपको नकआउट चरणमा स्पेनले सुधारिएको प्रदर्शन मात्र गरेन, एक बलियो टोलीका रूपमा प्रस्तुत गर्यो ।








