कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी एकढिक्का भएर अगाडि बढे मात्र परिणाम दिन सकिने बताएका छन् ।
सिराहामा कांग्रेसको आन्तरिक विशेष अभियान समापन समारोहलाई सम्बोधन गर्दै महतले म भए सबै हुन्थ्यो, अर्को भएकाले भएन भनियो भने परिणाम नआउने बताए ।
‘कसैले पनि एक्लै परिणाम ल्याउन सक्दैन । बिपी कोइरालाले पार्टीको नेतृत्व गर्दा त गणेशमान, कृष्णप्रसाद र सुवर्णशमशेरको आवश्यकता परेको थियो । अहिले त्यस्तो कोही पनि छैन । त्यसकारण कसैले वा कुनै पुस्ताकाले म भए सबै हुन्थ्यो, अरु भएर यस्तो भन्नु बेकारको कुरा हो,’ सरकारका अर्थमन्त्रीसमेत रहेका महतले भने ।
उनले पार्टीलाई मजबुद बनाउन संस्थाका निर्णय लिएर जनताको बीचमा जानुपर्ने बताए । ‘संस्थाको निर्णय लिएर जनताको बीचमा जानुपर्छ । संस्थागत कुरा सामाजिक सञ्जालमा उल्टापाल्टा गरियो भने जनता द्वुविधामा पर्छन्,’ उनले भने, ‘संस्थागत निर्णय जे हुन्छ, त्यो लिएर एउटै भावनाका साथ जनताका बीचमा जानुपर्छ ।’