रुपन्देही ।
रुपन्देहीको क्षेत्र नं. ५ मा नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद चुलिँदै जाँदा दुई गुटबीच पार्टीकै कार्यक्रममा हात हालाहालको अवस्था आएको छ ।
उक्त क्षेत्रबाट पटक-पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुँदै आएका नेता भरतकुमार शाह मंसिर ४ को आमनिर्वाचनमा एमालेका बासुदेव घिमिरेसँग पराजित भएसँगै क्षेत्रमा घातअन्तरघातको विवाद सुरु भएको थियो ।
०७४मा वाम गठबन्धन हुँदासमेत फराकिलो अन्तरले शाहले जितेको क्षेत्रमा अहिले ५ दलको बलियो गठबन्धन हुँदा पनि १० हजार मतान्तरले पराजय व्यहोरेपछि शाह पक्षले कांग्रेस युवा नेता विष्णु पोखरेललगायतका कारण हार भएको आरोप लगाएपछि विवाद झागिँदै गएको हो ।
पोखरेल पार्टीमा शेखर कोइराला समूहका हुन् । उनले प्रदेश सभा सदस्यमा टिकट पाएर पनि खोसिएको थियो । पोखरेललाई कारवाहीको सिफारिस गरेपछि पार्टीभित्र विवाद बढ्दै गएको हो ।
सैनामैना नगर सभापति रणबहादुर खनालले शाहको निर्देशनमा चुनावमा असहयोग गरेको आरोप लगाउंदै पोखरेललाई कारवाही सिफारिस गरेका थिए । तर सैनामैनासहित रुपन्देही ५ का ३२ वटा वडाका सभापति र २७ जना महाधिवेशन प्रतिनिधिमध्ये झण्डै दुई तिहाईले पोखरेललाई कारबाही सिफारिसको विपक्षमा उभिएका पोखरेल पक्षको दाबी छ ।