गृहपृष्ठ Featured कोहलीको १५ वर्षे क्रिकेट करिअर : यस्तो छ नालीबेली

कोहलीको १५ वर्षे क्रिकेट करिअर : यस्तो छ नालीबेली

सन् २००८ मा विराट कोहलीले भारतका लागि श्रीलंकाविरुद्ध अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका थिए । उनले क्रिकेटमा पदार्पण गरेको शुक्रबार १५ वर्ष पूरा भएको छ । सचिन तेन्दुलकर, गौतम गम्भीर, वीरेन्द्र सेहवाग, सौरभ गांगुली, भिभिएस लक्ष्मण र महेन्द्रसिंह धोनीजस्ता खेलाडीको दबदबा रहँदा उनको प्रदर्शन सधैँ छायामा परेको थियो । यी दिग्गज खेलाडीको सन्न्यासलगत्तै कोहली अन्तर्राष्ट्रिय क्रिकेटमा छाए । अन्तर्राष्ट्रिय क्रिकेटमा १५ वर्ष पूरा गर्दा उनले क्रिजमा पाँच सय किलोमिटर दौडिएको भारतीय एजेन्सीहरूले जनाएका छन् ।

उनले आफैँले रन लिँदा दुई सय ७७ किमि र साथीका लागि रन लिन दौडिँदा दुई सय ३३ किमि पार गरे । भारतका लागि अहिले सर्वाधिक अन्तर्राष्ट्रिय शतक लगाउनेमा उनी दोस्रो खेलाडी हुन् । शीर्ष स्थानमा सचिन नै छन् । यद्यपि, उनले सचिनको विश्व कीर्तिमान सय शतक पछ्याइरहेका छन् । उनले अहिलेसम्म ५० ओभर, टेस्ट र अन्तर्राष्ट्रिय टी–२० क्रिकेट गरी पाँच सय एक खेल खेलेका छन् । यसक्रममा उनले ७६ शतकका साथ २५ हजार पाँच सय ८२ रन बटुलेका छन् ।

विश्वकप डेब्युमै शतक

उनले एकदिवसीय विश्वकपको डेब्यु खेलमा शतक तथा टी–२० विश्वकपको पहिलो खेलमै अर्धशतकीय इनिङ्स खेले । विश्व क्रिकेटमा यस्तो सफलता प्राप्त गर्ने उनी पहिलो खेलाडी हुन् । सन् २०११ को विश्वकप उनको डेब्यु थियो । उनले बंगलादेशविरुद्ध शतक जोडेका थिए । सन् २०१२ को टी–२० विश्वकपमा उनले अफगानिस्तानविरुद्ध अर्धशतक बनाए ।

सात आयोजक राष्ट्रविरुद्ध बलिया खेलाडी
उनले अहिलेसम्म नौ राष्ट्रविरुद्ध शतकीय इनिङ्स खेलेका छन् । जुन राष्ट्रले एकदिवसीय खेलको आयोजना गरेका हुन्छन्, त्यसमध्ये उनले सात राष्ट्रविरुद्ध शतक खेलेका छन् । उनले बंगलादेशको भूमिमा मात्र शतक बनाउन सकेनन् । उनले अस्ट्रेलिया, इंग्ल्यान्ड, न्युजिल्यान्ड, श्रीलंका, दक्षिण अफ्रिका र वेस्ट इन्डिज भूमिमा एकदिवसीय तथा टेस्ट फम्र्याटमा शतक लगाएका छन् ।

दोहोरो शतकको रेकर्ड
सन् २०१६ सम्म उनले ४१ टेस्टमा ११ शतक पूरा गरिसकेका थिए । यसक्रममा उनले एकपटक मात्र एक सय ५० रनमाथि योगदान दिए । तर, सन् २०१६ देखि ०१९ सम्म उनको ब्याटिङ यस्तो चल्यो कि प्रत्येक खेलमा रेकर्ड बनाए । यो तीन वर्षको अवधिमा उनले टेस्ट खेलमा १५ शतक लगाएका थिए । जसमध्ये सातपटक दोहोरो शतक नै बनेको थियो । कोहली लगातार चार टेस्ट सिरिजमा दोहोरो शतक लगाउने विश्वकै पहिलो ब्याट्सम्यान हुन् । उनले वेस्ट इन्डिज, न्युजिल्यान्ड, इंग्ल्यान्ड र बंगलादेशविरुद्ध दोहोरो शतक लगाए ।

ओपनिङमा डेब्यु गर्ने युवा खेलाडी
भारतका लागि ओपनिङमा डेब्यु गर्ने उनी कम उमेरका हुन् । सन् २००८ मा श्रीलंकाविरुद्ध डेब्यु गर्दा उनको उमेर १९ वर्ष दुई सय ८७ दिन थियो । यस सिरिजमा उनले पाँचपटक ओपनिङ अवसर पाए । १५ वर्षको क्रिकेट करिअरमा उनले केवल दुई सिरिजमा मात्र ओपनिङ गरेका थिए । उनीभन्दा अगाडि पार्थिव पटेल, युवराज सिंह र विनोद काम्बलीले कम उमेरमा ओपनिङ गरेका थिए ।

८३ भेन्यु ४६ शतक
कोहलीले अहिलेसम्मका अन्तर्राष्ट्रिय क्रिकेटमा ८३ भेन्युमा प्रतिस्पर्धा गरेका छन् । यसक्रममा उनले ४६ भेन्युमा शतकीय इनिङ्स खेले । अहिलेसम्म ७६ शतक बनाएका उनले अस्ट्रेलियाको एडिलेड र ओभलमा सर्वाधिक पाँच शतक जोडेका छन् ।  सचिनले ५३ भेन्युमा शतकीय इनिङ्स खेलेका थिए ।

भारतका लागि छिटो शतक
भारतको एकदिवसीय इतिहासमा कम बलमा शतक लगाउने कोहली पहिलो ब्याट्सम्यान हुन् । उनले सन् २०१३ मा अस्ट्रेलियाविरुद्ध जयपुरमा भएको खेलमा केवल ५२ बलमा शतक ठोके । सो खेलमा उनी २७औँ ओभरमा क्रिजमा आएका थिए । अस्ट्रेलियाविरुद्धको सिरिजअन्तर्गत नागपुरमा उनले ६१ खेलमा शतक लगाउन सफल भए । यस खेलमा उनी ३०औँ ओभरमा ब्याटिङ गर्न आएका थिए ।

सम्बन्धित् समाचार