वैखरी अनलाईन, बाणगंगा ।
जिल्लाको बाणगंगा नगरपालिका- १० मा डेँगु संक्रमणको जोखिमलाई न्युनिकरण गर्न अभियानलाई तीब्र रुपमा अघि बढाईएको छ । जसका लागि ‘लामखुट्टेको लार्भा खोज र नष्ट गर’ अभियान संचालन गरिएको छ । बाणगंगा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा उक्त अभियानलाई निरन्तरता दिएको हो ।
वडाध्यक्ष यमप्रसाद पोख्रेलले जनप्रतिनिधिसहित स्वास्थ्यकर्मी र स्थानीयको समेत सहभागितामा जोखिमयुक्त क्षेत्रका स्थानीयलाई सचेत बनाइएको बताए ।
लामखुट्टेले अण्डा पार्न सक्ने सम्भावित स्थानहरूको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्ने र बासस्थान सरसफाई गरि अभियानलाई प्रभावकारी रुपमा संचालन गर्न वडा लागी परेको वडाध्यक्ष पोख्रेलले बताए ।
घना बस्ती तथा मुख्य बजार क्षेत्रलाई अभियानले प्राथमिकता दिई काम गरेको उनले बताए । पानी जम्ने ठाउँमा लामखुट्टेले लार्भा बनाउने भएकाले पानी जम्न दिन नहुने र निरन्तर सरसफाइ गर्नुपर्ने उनले बताए ।
उनले दिउँसो टोक्ने लामखुट्टेबाट डेंगु संक्रमण हुने भएकाले शरीरका सबै भाग छोपिने कपडा लगाउन अपिल गरेका छन् ।