तुलसीपुर ।
पिठ्युँमा झोला, एक हातमा लठ्ठी अनि हिँडाइमा रफ्तार हुन्छ तुलसीपुर–१ भमके निवासी ९० वर्षीय प्रेमबहादुर डाँगीको।
कुनै समय घर–व्यवहारमा व्यस्त हुने डाँगी हिजोआज विद्यालयका बालबालिकासँग बित्छ। उमेरमा पढ्न नपाएकाले अहिले उनी दैनिक विद्यालय जान्छन् ।
उनले पनातिसमेत देखिसकेका छन्, तिनै पनातिजस्ता उमेरका विद्यार्थीसँग उनी कक्षा १ मा पढ्न थालेका छन्। चालु शैक्षिक सत्रदेखि उनले कक्षा १ को पढाइ शुरु गरेका हुन्। यही वडाको वीरेन्द्र मावि भ्यूडहर सुनपुरमा उनी पढ्न थालेका हुन्। उनी पढ्नकै लागि भमकेबाट एक घण्टा पैदल हिँडेर भ्यूडहर सुनपुर पुग्छन्। ‘सानोमा पढ्न पाइनँ, गाउँमा पनि आफूसँग गफगाफ गर्ने साथी पनि भेटिएनन्”, उनले भने, ’बुढेसकालमा भए पनि केही कुरा सिकौँ भनेर स्कुल पढ्न आएको हुँ।’
घरमा पनि उनी नातिहरूसँग बस्दै आएका छन्। उनकी २०३२ सालमा श्रीमतीको निधन भयो। जेठो छोराको पनि निधन भएपछि अहिले नातिसँग बस्दै आएका छन्। नाति आफ्नो काममा व्यस्त हुने भएकाले घरमा एक्लै बस्नुभन्दा विद्यालय जान थालेको उनको भनाइ छ। उनले आफू बाँच्दासम्म पढिरहने बताए। ‘सानोमा पढ्न नपाए पनि मेरो पढ्ने चाहना धेरै थियो’, उनले भने, ‘जे भए पनि मर्ने बेला केही अक्षर सिकेर मरौँ भन्ने मेरो चाहना हो।’
उनी पढ्नमा पनि त्यति कमजोर छैनन्। कक्षा शिक्षक राजेन्द्रकुमार शर्माका अनुसार कक्षा १ को किताब अभ्यास पुस्तिकाजस्तै हुने भएकाले किताबमा भनेअनुसार लेख्न सक्ने भएको बताए। ‘परिपक्व दिमाग भएर पनि होला, कक्षा १ को किताब अभ्यास पुस्तिकाजस्तो हुन्छ’, उनले भने, ‘त्यो पुस्तिकाअनुसार उहाँले लेख्न सक्नुहुन्छ।’ अङ्ग्रेजी अलि गाह्रो लाग्ने गरे पनि नेपाली भाषाका सबै किताबमा उनले राम्रोसँग पढ्न सकेको बताए।
उनीजस्तो उमेरमा व्यक्ति विद्यालयमा पढ्न आउनुले समाजमा पढाइको महत्व झल्काएको विद्यालयका प्रधानाध्यापक टोपबहादुर घर्तीले बताए।
विद्यालयले उनलाई सम्मान गर्ने योजना बनाएको समेत प्रअ घर्तीले बताए। नियमित विद्यालय आउँदा विद्यालय लगाउनुपर्ने भएकाले पोशाक पनि किनिदिने योजना बनाएको उनले बताए।