गृहपृष्ठ Featured एट्लेटिको मड्रिडको कीर्तिमानी जित

एट्लेटिको मड्रिडको कीर्तिमानी जित

प्रकाशित मिति:

काठमाडौं ।

स्पेनिस ला लिगामा एट्लेटिको मड्रिडले सोमबार रायो भायकानोविरुद्ध ७–० को कीर्तिमानी जित निकालेको छ । ला लिगामा एट्लेटिको मड्रिडले निकालेको हालसम्मकै फराकिलो ‘अवे’ जित हो ।

एट्लेटिको मड्रिडको जितमा अल्भारो मोराटाले दुई गोल गरे । एन्टोनियो ग्रिजमन, मेम्फिस डिपे, नाहुल मोलिना एन्जल कोरिया र मार्कोस लियोरेन्टले एक–एक गोल गरे ।

रायो भायकानोको मैदान स्टाडियो डे भायकासमा भएको खेलको दोस्रो मिनेटमा नै ग्रिजमनले गरेको गोलबाट एट्लेटिको मड्रिडले अग्रता बनाएको थियो । १६औँ मिनेटमा डिपेले गोल गर्दै अग्रतालाई दोब्बर पारे । ३६औँ मिनेटमा मोलिनाले गोल गरेपछि एट्लेटिकोले पहिलो हाफमै ३–० को सहज अग्रता बनाएको थियो ।

७३औँ मिनेटमा मोराटा एट्लेटिको मड्रिडका लागि चौथो गोल गरे । त्यसको ६ मिनेटपछि कोरियाले गोल गर्दै अग्रतालाई ५–० मा पुर्‍याएका थिए । ८४औँ मिनेटमा मोराटाले व्यक्तिगत दोस्रो गोल गरेपछि एट्लेटिको मड्रिडले ६–० को अग्रता बनाएको थियो । त्यसको दुई मिनेटपछि लियोरेन्टले गोल गर्दै एट्लेटिको मड्रिडलाई ७–० को अग्रतामा राखेका थिए ।

जितसँगै तीन खेलबाट सात अंक जोडेको एट्लेटिको मड्रिड तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट ६ अंक जोडेको भायकानो तालिकाको आठौं स्थानमा छ ।

“सुरुआतदेखि नै हामीले उत्कृष्ट खेल खेल्यौं । हामीले तीन महत्वपूर्ण अंक जोड्यौं । म हाम्रो टिमवर्कमा निकै खुसी छु,” जितपछि ग्रिजमनले भने ।

सम्बन्धित् समाचार