गृहपृष्ठ Featured लुम्बिनीमा जंगली च्याउ खाँदा १३ महिनामा ८ को मृत्यु

लुम्बिनीमा जंगली च्याउ खाँदा १३ महिनामा ८ को मृत्यु

दाङ ।

गत २६ असारमा जंगलमा घाँस काट्न जाँदा रोल्पा लुंग्री गाउँपालिका–५ बुझिङकी ३३ वर्षीया भीमा गुरुङले च्याउ लिएर फर्किइन् । बेलुका त्यसैको तरकारी पकाएर दुई छोरा र उनले त्यसैसँग खाना खाए र सुते ।

अर्कोदिन घरमा तीनै जना बिरामी परे । स्थानीय स्वास्थ्य संस्थामा उपचार गर्न गए, अवस्था झन् गम्भीर बन्दै गएपछि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पुर्‍याइयो । तर दुईदिनको अन्तरालमा भीमा, उनका ११ वर्षका छोरा प्रेम र ५ वर्षका छोरा सुशीलको मृत्यु भयो ।

त्यसै गाउँकी २६ वर्षीया बिमला बिकको पनि जंगली च्याउ खाँदा ज्यान गयो । २६ असारमा जंगलबाट ल्याएको च्याउको तरकारी बिमलासहित परिवारका ४ सदस्यले खाएका थिए । रोल्पामा प्राथामिक उपचारपछि बुटवलस्थित लुम्बिनी सिटी हस्पिटलमा लगिएका उनीहरुमध्ये बिमलाको मृत्यु भयो भने तीन जनालाई निको भए ।

साउन २९ गते घर नजिकैको जंगलमा भेटिएको च्याउ खादा दाङ बंगलाचुली गाउँपालिका–४ मैकुटीकी २७ वर्षीया ईश्वरी सुनार, उनका श्रीमान् र छोरी बिरामी परे । ११ वर्षीया छोरी अस्मिताको प्रादेशिक अस्पताल बुटवलमा साउन ३१ गते उपचारकै क्रममा मुत्यु भयो । त्यसको दुईदिनपछि आमा ई रीको पनि उपचारको क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भयो । मृतकका श्रीमान अजय सुनार भने उपचारपछि निको भए ।

लुम्बिनी प्रदेशमामात्र पछिल्लो १३ महिनामा जंगली च्याउ खाएर ८ जनाले ज्यान गुमाएको प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ । बर्दिया र रोल्पामा ३/३ जना र दाङमा २ जनाको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी वरिष्ठ उपरीक्षक कृष्णबहादुर पल्ली मगरले बताए ।

जंगलमा उम्रेको विषालु च्याउ खादा १३ महिनामा प्रदेशभर १ सय ६१ जना बिरामी परेको उनले बताए । उनका अनुसार दाङमा ३४ जना, बर्दियामा ३ जना, रोल्पामा ९ जना, कपिलवस्तुमा १०, बाँकेमा १९, गुल्मीमा ५, नवलपरासीमा ४, प्युठानमा २, जना र रुपन्देहीमा एक जना बिरामी परेको तथ्यांक छ ।

सम्बन्धित् समाचार