गुल्मी ।
गुल्मीको रेसुंगा विमानस्थलमा दुई महिनापछि पुनः हवाई उडान हुने भएको छ। गत वैशाखको अन्तिम सातादेखि नेपाल एयरलाइन्सले नियमित उडान सुरु गरे पनि मौसम प्रतिकुलताका कारण दुई महिनादेखि उडान रोकिएको थियो।
एयरलाइन्सको प्रत्येक हप्ताको बुधबार र शुक्रबार उड्ने समय तालिका छ। तर आउँदो शुक्रबारदेखि नेपाल एयरलाइन्सले उडान भर्ने भएसँगै अनलाइन टिकट बुकिङ खुला गरेको छ।
प्रत्येक हप्ता दुई दिन काठमाडौंबाट गुल्मीका लागि बिहान साढे ६ र रेसुंगा विमानस्थलबाट पौने ८ बजे उडान गर्ने समय तालिका छ। शुक्रबारका लागि काठमाडौंबाट गुल्मीको केही टिकट बुकिङ भइसकेको छ।
काठमाडौंदेखि गुल्मीका लागि ६ हजार ५ सय र गुल्मीदेखि काठमाडौंका लागि ६ हजार ३ सय रुपैयाँ भाडादर कायम गरिएको रेसुंगा नगरपालिकाका सूचना प्रविधि अधिकृत सुरेश खनालले जानकारी दिए।