२०८० लाई अधिवेशन वर्षको रुपमा घोषणा गरेको एमालेको लुम्बिनी प्रदेश अधिवेशन आज (शनिबार) देखि बुटवलमा सुरु हुँदैछ।बुटवलमण्डपमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले दिउसो १२ बजे उद्घाटन गर्ने कार्यक्रम छ।
उद्घाटन समारोहमा पार्टी अध्यक्ष ओलीसँगै उपाध्यक्षहरु विष्णु पौडेल र युवराज ज्ञवाली, महासचिव शंकर पोख्रेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिवहरु गोकर्ण विष्ट, छविलाल विश्वकर्मा एवं प्रदेश इन्चार्ज समेत रहेकी पद्यमा अर्याल, पोलिटब्युरो,केन्द्रीय सदस्य लगायत केन्द्रीय आयोगका पदाधिकारी तथा सदस्यहरु समेत सहभागी हुने छन्।
प्रदेश इन्चार्ज, पोलिटब्युरो,केन्द्रीय सदस्यहरु केहि दिन देखि नै अधिवेशनको तयारीमा खटिँदै आएपनि अध्यक्ष ओली लगायतका केन्द्रीय पदाधिकारीहरु अहिले बिहान आउने कार्यक्रम रहेको प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले जानकारी दिएका छन्।
सम्मेलनपूर्व विहान १० बजेदेखि बुटवलका १९ वटै वडाहरु, छिमेकी पालिका तथा जिल्लाबाट सहभागी हुन आउने कार्यकर्ताहरु राजमार्ग चौराबाट झाँकीसहित सम्मेलनस्थलमा प्रवेश गर्नेछन्।
सम्मेलनका लागि १२ वटै जिल्लाका ८२ हजार ८९५ पार्टी सदस्य र २३ वटै जनसंगठनबाट यसअघि नै १ हजार ४ जना प्रतिनिधि यसअघि नै छनोट भईसकेका छन्।
अधिकांश प्रतिनिधिहरु शुक्रबार नै बुटवलमा आईसकेका छन् भने रुपन्देहीसँगै छिमेकी जिल्लाहरु कपिलवस्तु, पश्चिम नवलपरासी र कपिलवस्तुका प्रतिनिधिहरु अहिले विहान पनि आउने क्रम जारी रहेको एमालेले जनाएको छ।
एमाले प्रचार प्रसार विभाग प्रमुख डिआर घिमिरेका अनुसार प्रदेशको पहिलो अधिवेशनले यसअघि रहेको ५७६ सदस्यीय प्रदेश कमिटीलाई घटाएर २०५ सदस्यीय बनाउनेछ।
सातवटै प्रदेशमध्ये सबैभन्दा पहिले आयोजना गरिएकोले एमाले कार्यकर्ता मात्र होईन अन्य दलहरुले पनि बुटवलमा हुने प्रदेश अधिवेशनलाई चासोका रुपमा लिएका छन्। एमाले नेताहरुले लुम्बिनीको पहिलो अधिवेशनले पार्टी र मुलुकलाई नै नयाँ सन्देश दिने दाबी गरेका छन्।
पार्टीका सचिव एवं प्रदेश इन्चार्ज पद्यमा अर्याल, पोलिटब्युरो सदस्य सुर्य थापा तथा प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले पहिलो पटक हुन गईरहेको अधिवेशन आफैमा ऐतिहासिक भएको बताएका छन्।
‘लुम्बिनीले पहिलो पटक अधिवेशन गर्दै छ, पार्टी जीवनलाई संघीय ढाँचा अनुरुपमा लगेर नयाँ नेतृत्व चयन गर्ने भएकोले यो अधिवेशन ऐतिहासिक नै हो,’ अध्यक्ष कंडेलले भने।
केन्द्रीय सचिव एवं प्रदेश इन्चार्ज अर्यालले पनि लुम्बिनी अधिवेशनले देशभर नयाँ सन्देश दिने भएकोले यसलाई महत्वपूर्ण रुपमा हेरिएको बताईन्। अर्यालले अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित गर्ने भएकोले यसले पार्टी जीवनमा नयाँ उर्जा थपिने समेत बताइन्।
प्रदेशको नेतृत्वका लागि वर्तमान अध्यक्ष राधाकृष्ण कंडेल र केन्द्रीय सदस्य हरि रिजाल दुईजनाको प्रतिष्पर्धा हुने देखिएको छ। आकांक्षी दुबै जनाले आ-आफ्नो माहोल बनाइरहेका छन्।
नेतृत्वका लागि कंडेल र रिजाल निकट नेता कार्यकर्ताहरु दुबै समुहमा विभाजित भई गोप्य भेला तथा छलफलमा जुटेको बताइन्छ। अध्यक्षका आकांक्षी कंडेल र रिजाल निकट नेता कार्यकर्ताहरु अहिले दुई समुहमा विभाजित छन्।
कँडेल पार्टी उपाध्यक्ष पौडेल निकट र रिजाल महासचिव पोखरेल निकट हुन्।
प्रदेश ईन्चार्ज अर्यालले भने नेतृत्व चयनमा सकेसम्म सर्वसम्मत गरिने र सहमति जुट्न नसके स्वस्थ प्रतिस्पर्धा हुने बताउँदै आएकी छन्। पार्टीभित्र स्वस्थ प्रतिस्पर्धालाई निषेध नगरिएको तर अहिले सार्वजनिक भईरहेको जस्तो गुट उपगुट बनाएर समुहगत उम्मेदवारी भने नहुने उनले स्पष्ट पारेकी छन्।
अर्यालले शुक्रबार केन्द्रीय कमिटीमा प्रतिनिधित्व गरेका केन्द्रीय सदस्यहरुको बैठक राखेर केन्द्रीय नेताहरुको नाममा गुट बनाएर पार्टी कार्यकर्ताहरुलाई विभाजित नगर्न र बुटवलबाट गलत सन्देश जान नदिने गरि लाग्न निर्देशन दिएकी थिईन्।
कतिपय केन्द्रीय सदस्यहरु भने अधिवेशनका लागि प्रतिनिधि छनोट भएपनि पार्टी अध्यक्ष ओलीको निर्देशन अनुरुप नै नेतृत्व चयन हुने भएकोले नेता कार्यकर्ताहरु अहिले नै दुई समुहमा विभाजित हुन नहुने बताउँछन्।
चितवनमा सम्पन्न पार्टीको दशौं महाधिवेशनबाट पार्टीमा कुनै गुट नभएको घोषणा गरेको एमालेले लुम्बिनीमा दुई समुह बनाएर प्रतिष्पर्धामा जाँदा अहिले चर्चामा आएजस्तै पौडेल र पोखरेलका गुटले झांगिने मौका पाउने र अन्ततः लुम्बिनीको पार्टी ध्वस्त हुने ती सदस्य बताउँछन्।
अध्यक्षका आकांक्षी कंडेल र रिजाल पनि आआफ्नो पक्षमा सहमति जुटाउन प्रयास गरिरहेका छन्। प्रदेश कमिटिका केहि पदाधिकारी र सदस्यहरुले अधिवेशन आउन २ दिन मात्र बाँकि रहँदा अध्यक्षका दुबै आकांक्षीलाई सँगै राखेर सहमति गराउने प्रयास गरेका थिए। सहमतिका लागि दुबै दावेदारसँग छलफलमा गरिएपनी निष्कर्ष निस्किएन।
‘त्यो बसाई पनि पहिलेको जस्तो भयो दुबैले अडान नछोडेपछि हामी सबै उठ्यौं,’छलफलमा सहभागि एक सदस्यले भने।
यस अघि पटकपटकको छलफलमा पनि दुवैले अडान छोडेका थिएनन्। पछिल्लो छलफलमा राधाकृष्ण कंडेलले आफू प्रदेश अध्यक्षकै लागि केन्द्रीय सदस्य नभएको र त्यो लुम्बिनीका अन्य केन्द्रीय सदस्यहरुसँगको पूर्वसर्त समेत रहेको बताएका थिए।
तपाईले प्रदेशको नेतृत्व गर्ने हो भनेपछि मैले केन्द्रमा जाने चाहना नराखी तपाईहरुलाई छोडिदिएँ, यो पटक प्रदेशमा मलाई छोडिदिनुस्,’ कंडेलको भनाई उदृध गर्दै एक नेताले भने।
कंडेलको उक्त आग्रहलाई हरि रिजालले ठाडै अस्विकार गरेका थिए। प्रदेश अध्यक्षका लागि आफू धेरै अगाडी बढिसकेको र पछाडी फर्किने अवस्था नभएको भन्दै कंडेलले प्रदेशको नेतृत्व लिइसकेकोले यसपटक आफुलाई छोडिदिन आग्रह गरेका थिए।








