गृहपृष्ठ Featured गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ‘पीपीपी’ मोडलमा चलाउने तयारी

गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ‘पीपीपी’ मोडलमा चलाउने तयारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भैरहवास्थित गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पब्लिक–प्राइभेट–पार्टनरसीप (पीपीपी) मोडेलमा सञ्चालन गर्ने तयारी भएको जानकारी दिएका छन् ।

विराटनगरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री किरातीले अत्यन्तै महंगोमा निर्माण भएको गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पीपीपी मोडलमा सञ्चालनका लागि अब बस्ने मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पेस गर्ने सम्पूर्ण तयारी गरिसकेको बताए ।

‘यो दुइटा विमानस्थल अत्यन्तै धेरै खर्चमा बनाइयो तर के कति व्यवसायिक अध्ययन, अनुसन्धान गरिएकोबारे तत्कालीन मन्त्रीज्यूहरुलाई नै थाहा होला,’ उनले भने, ‘तर यसलाई सञ्चालनका लागि कूटनीतिक पहल गर्दै व्यावसायिक परियोजना ल्याउन लागेका छौं जुन पीपीपी मोडलमा जान छिट्टै नै नागरिक उड्डयन प्राधिकरणबाट निर्णय गरेर मन्त्रालयमार्फत् मन्त्रिपरिषद्मा लग्ने तयारी छ ।’

उक्त विमानस्थलहरुमा चीनका विभिन्न सहरबाट चार्टर फ्लाइट सुरु भएको, भुटानबाट पनि प्रयास भइरहेको र क्वालालम्पुरबाट भैरहवा, भैरहवाबाट काठमाडौं, काठमाडौंबाट हङकङ, क्वालाल्मपुरबाट काठामाडौं र काठमाडौंबाट दिल्ली र कोलम्बो उडानका लागि तयारी भइसकेको उनले जानकारी दिए ।

पोखराको छिनेडाँडा क्षेत्रको २ सय हेक्टर क्षेत्रफलमा करिब २२ अर्ब रुपैयाँ चिनियाँ ऋण लगानीमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएपछि २०७९ पुस १७ गते प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका थिए । ११ जहाज पार्किङ, आन्तरिकतर्फ दैनिक ४८ र अन्तर्राष्ट्रियतर्फ ६ वटा उडान तथा अवतरण गर्ने क्षमता रहेको विमानस्थलको २५ सय मिटर रनवे रहेको छ । यसमा १५० देखि १८० सिट भएको एयरबस ३२० र बोइङ ७५७ वा सो सरहको जहाज उडान गर्ने क्षमता छ ।

सम्बन्धित् समाचार