बाणगंगा ।
कपिलवस्तुमा एस.क्यु.सी. (विद्यार्थी गुणीय चक्र) अन्तर्गतको ८ औं सम्मेलनको तयारी तीब्र पारिएको छ । सम्मेलन क्वेस्ट नेपाल लुम्बिनी हबको आयोजनामा बाणगंगा नगरपालिका- २ राजपुर अवस्थित ज्ञानपुञ्ज बोर्डिङ्ग स्कुलमा हुदैं छ । विद्यार्थीहरुको शैक्षिक महोत्सवको रुपमा रहने उक्त सम्मेलन यहि भदौ २२ र २३ गते हुने क्वेस्ट नेपाल लुम्बिनी हवका अध्यक्ष मिलन भण्डारीले जानकारी दिए । उनका अनुसार कपिलवस्तुका १३ र अन्य जिल्लाका ८ गरि २१ विधालयका विधार्थीहरु समावेश हुने छन् ।
जसमा करिव ५ सय १० विद्यार्थीहरु सहभागि हुने छन् । उनले उक्त सम्मेलनमा एस.क्यु.सी.को काम, कर्तव्य तथा अनुभवको आदानप्रदानसंगै विभिन्न प्रतियोगिताहरु संचालन गरिने जानकारी दिए । ज्ञानपुञ्ज बोर्डिङ्ग स्कुलका प्रिन्सिपल सुरेन्द्र पाण्डेले एस.क्यु.सी.ले विधार्थीहरुको मुख्य समस्या पत्ता लगाउँदै उक्त समस्याको मूल जरोसम्म पुग्ने काम गर्ने बताए । जसले जीवनमा आईपर्ने समस्याको पहिचान गर्दै त्यसको निराकरण गर्न विधार्थीहरुलाई समक्ष बनाउने उनको भनाई छ ।
क्वेस्ट नेपाल लुम्बिनी हवका सहसंयोजक समेत रहेका पाण्डेले यस पटक सम्मेलन २ दिने भएकाले वृहत हुने दाबी गरे । उनका अनुसार सम्पुर्ण विधाहरु समापन गर्ने जिम्मेवारी पनि स्वयमे विद्यार्थीहरुलाई दिईएको छ ।
बाणगंगा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जिसीले विगतमा भन्दा यस पटक सम्मेलन फरक तवरले संचालन गर्ने तयारी गरिएकाले विगतभन्दा कार्यक्रम व्यवहारिक हुने विश्वास व्यक्त गरे । क्वेस्ट नेपाल लुम्बिनी हवका प्रमुख सल्लाहकार तथा प्याब्सन कपिलवस्तुका अध्यक्ष सुन्दर पाण्डेले विद्यार्थीहरुलाई जीवनमा थप सृर्जनशील बनाउन सम्मेलन महत्वपुर्ण सावित हुने दाबी गरे ।
यस ८ औं सम्मेलन सफल बनाउन संयोजक भण्डारीको संयोजकत्वमा र पाण्डेको सह संयोजकत्वमा १८ सदस्यीय मुल समिति बनाईएको आयोजकले जानकारी दिएको छ । ज्ञानपुञ्ज बोर्डिङ्ग स्कुलका प्रबन्ध निर्देशक रोमकान्त घिमिरेले कार्यक्रम सफलताको शुभकामना दिंदै भने, ‘विद्यार्थीहरुको सर्वाङ्गीण विकास गर्न यस्ता कार्यक्रम आवश्यक छन् । बाहिर वातावरणमा संमायोजन हुन विधार्थीहरुलाई अवसर दिनुपर्छ ।’
भुपु सैनिक बोर्डिङ्ग स्कुलका प्राचार्य डम्मर सोमैको सञ्चालनमा सम्पन्न उक्त पत्रकार सम्मेलनमा क्वेस्ट नेपाल लुम्बिनी हबका सल्लाहकार कृष्ण प्रसाद भट्राई, नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्य, सचिव जानु पाण्डे, पुर्व उपाध्यक्ष पार्वती पाण्डे लगायत जिल्लाका सक्रिय पत्रकारहरुको उपस्थिती रहेको थियो ।