वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले स्वदेशमै केही गर्छु भन्ने युवाहरुलाई सबैले साथ दिनुपर्ने बताएका छन् । पछिल्लो समय आर्थिक मन्दीले उद्योग व्यवसायी मारमा परेको भन्दै मेयर अर्यालले स्वदेशमै केही गर्छु भन्ने युवाहरुलाई सवैले साथ दिनुपर्ने बताएका हुन् ।
बुधबार मेयर अर्यालले बाणगंगाको मुख्य बजार क्षेत्र चारनम्बर जीतपुरबाट काठमाडौंका लागी छुट्ने बसको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले बाणगंगाको सर्वाङ्गीण विकासमा बस सेवाले महत्वपुर्ण भूमिका निर्वाह गर्ने बताए । काठमाडौंका लागी चार नम्बर क्षेत्रबाट छुट्ने बस नरहेको अवस्थालाई मध्येनजर गरि रात्रिकालीन बस सेवा सुरु भएकोमा उनले खुशी व्यक्त गरे ।
मेयर अर्यालले बस संचालनका क्रममा आईपर्ने समस्या समाधान गर्न आफुले सकारात्मक तवरले सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले विभिन्न ठाउँबाट छुटेका बसबाट सेवा लिइरहेका वाणगंगा वासीले अव यहीबाट छुट्ने भएपछि यात्राका लागि नगरवासीलाई धेरै सहज हुने भन्दै व्यावसायिक सफलताको शुभकामना व्यक्त गरे ।








