बर्दिया ।
बर्दियाको मधुवन नगरपालिका-३ धनौरास्थित जंगलमा घाँस काट्ने क्रममा बाघको आक्रमणबाट ५२ वर्षीया महिलाको मृत्यु भएको छ ।शुक्रबार अपराह्न ४ बजेतिर सम्झना सामुदायिक वनमा घाँस काट्ने क्रममा काली वंशीको बाघको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
महिलाको घटनास्थलमै मृत्यु भएको र शव पोस्टमार्टमका लागि सदरमुकाम गुलरीया लैजाँदै गरिएको डीएसपी बोहोराले बताए । महिलाको शव पौने ५ बजेतिर भेटिएपछि पोस्टमार्टमको तयारी गरिएको प्रहरीले जनाएको छ ।
उक्त सामुदायिक वनमा ४ वर्षयता बाघको आक्रमणबाट १३ जनाको ज्यान गइसकेको छ । मृत्यु हुनेमध्ये अधिकांश घाँस काट्न जाने महिलाहरू नै रहेका छन् । वन कार्यालय, राष्ट्रिय निकुन्ज र प्रहरीले जंगलमा घाँस काट्न जाँदा एक्लै नजान आग्रह गर्दै आए पनि स्थानीयहरू बाध्यतावश एक्लै पनि जाने गर्छन् ।