गृहपृष्ठ Featured मोरक्कोमा भूकम्पबाट मृत्यु हुनेको संख्या २८ सय पुग्यो

मोरक्कोमा भूकम्पबाट मृत्यु हुनेको संख्या २८ सय पुग्यो

प्रकाशित मिति:

मोरक्कोमा भूकम्पबाट मृत्यु हुनेको संख्या  दुई हजार आठ सय पुगेको छ। यस्तै, अहिलेसम्म तीन हजारभन्दा बढी घाइते भएका छन्।

अधिकांश भूकम्पपीडितले सरकार तथा अन्य निकायबाट सहायता नपाएको गुनासो गरेका छन्। भूकम्पबाट घरबारविहीनहरूले आफ्नो ज्यान जोगिए पनि बाँकी जीवन जिउन आफूसँग केही नभएको र गत शुक्रबारदेखि नै खाना र आवासका निम्ति भौँतारिनुपरेको पीडा पोखेका छन्।

सरकार वा अन्य सहायता निकायबाट आफूहरूलाई कुनै सहयोग प्राप्त नभएको पनि उनीहरूले बताएका छन्। भूकम्पबाट अधिक प्रभावित ताफेघते गाउँका एकजना पीडितका अनुसार करिब दुई सयजनाको बसोवास रहेको उनको गाउँका ९० जनाको शव फेलापरेको छ भने अन्य हराइरहेका छन्।

भवनका भग्नावशेष सफा गर्ने यान्त्रिक उपकरणको अभावमा खोज जटिल भएको छ। परम्परागत घरका इँटा र ढुंगा बाटामा असरल्ल छन् । हसन आफ्ना काका अझै पनि भग्नावशेषमुनि दबिएका बताउँछन्, तर उनलाई जीवितै बाहिर निकाल्ने कुनै आशा छैन।

‘हामीले यहाँ राज्यले परित्याग गरेको महसुस गरिहेका छौँ, हामीलाई मद्दत गर्न कोही आएको छैन । हाम्रा घर भत्किएका छन्, अब हामी कहाँ बस्ने ?’ एटलस पहाडको अग्लो क्षेत्रमा रहेकाे गाउँ मिसिरातका भग्नावशेषमाथि उभिएर रोष व्यक्त गर्दै ४३ वर्षीया खादिजा एट्लकिद प्रश्न गर्छिन्।

एक सयभन्दा कमको बसोवास रहेको उनको गाउँपालिकामा १६ जनाको शव फेला परेको भए पनि भग्नावशेषमा पुरिएका पशुचौपाया गनाएर स्थानीय वायु नै प्रदूषित भएको छ।

सम्बन्धित् समाचार