काठमाडौं ।
हृदयघातका कारण संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको आज मध्य रातमा निधन भयो। मंगलबार राति १ बजे हृदयघात भएपछि उनलाई बालुवाटारस्थित निवासबाट त्रिवि शिक्षण अस्पताल लगिएको थियो।
त्रिवि शिक्षण अस्पताल पुर्याइएलगत्तै नेम्वाङलाई चिकित्सकहरूले मृत घोषणा गरेका थिए।
उनको मृत्युको घोषणा गरेको त्रिवि शिक्षण अस्पतालले आधिकारिक रूपमा हालसम्म मृत्युको कारणबारे केही भनेको छैन। यद्यपि हृदयघातका कारण उनको मृत्यु भएको बताइएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीका अनुसार भने उनी केही दिनअघि सार्वजनिक कार्यक्रमका लागि कोशी प्रदेश पुगेका थिए। त्यहाँबाट फर्किएपछि उनमा ज्वरो आएको थियो जसले गर्दा उनी घरमै चिकित्सकको निगरानीमा रहेका थिए।
मन्त्री किराँतीका अनुसार गत राति एक बजे एक्कासी शौचालयमा ढलेका नेम्वाङलाई परिवारका सदस्यले त्रिवि शिक्षण अस्पताल पुर्याएका थिए तर अस्पताल पुर्याइएको केही समयमै उनलाई चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए।
वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. अरुण सायमीका अनुसार नेम्बाङ करिब ३ दशकदेखि मुटुको चाल गडबडी हुने समस्याबाट पीडित थिए। जसले गर्दा झन्डै तीन दशकदेखि मुटुको चाल गडबडी हुने समस्याको नियमित औषधि खाइरहेका थिए।