वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तु उद्योग बाणिज्य संघले दक्षिणी गुजरात चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीसंग कायम भएको भगेनी सम्बन्धलाई थप विस्तार गर्ने भएको छ । संघका कानुनी सल्लाहकार गुणानिधि भुसाल संयोजक रहने गरि सम्बन्ध विस्तार तथा आवश्यक सहकार्यको कामलाई थप अगाडि बढाउने संघले निर्णय गरेको छ । संघले विहिबार बैठक बसी यस्तो निर्णय गरेको हो ।
बैठकले संघको संस्थागत विकासको लागी आफ्नै वेवसाईट निर्माण गर्न महासचिव मनोज पौडेल, कोषाध्यक्ष विनोद कुमार पन्त र कानुनी सल्लाहकार गुणानिधि भुसालको ३ सदस्यीय समन्वय समिति बनाई उक्त समितिलाई जिम्मा दिएको छ ।
बैठकले आगामी असोज ४ गते जिल्ला खाद्य प्रविधि कार्यालयको प्राविधिक सहयोगमा खाद्य सुरक्षा सम्बन्धि प्रशिक्षण कार्यक्रम संचालन गर्ने समेत निर्णय गरेको महासचिव मनोज पौडेलले जानकारी दिए ।








