काठमाडौँ ।
सरकारले वार्तामा बस्न पटक–पटक गरेको आग्रहलाई अस्वीकार गर्दै देशभरका शिक्षकहरूले बुधबारदेखि काठमाडौं केन्द्रित सडक आन्दोलन थालेका छन् । संविधानअनुसार शिक्षा विधेयकमा शिक्षकको सरुवा, बढुवा, नियुक्ति कार्यसम्पादन, सेवासुविधा, नियमन लगायत रेखदेखमा स्थानीय तहको भूमिका रहने व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघले आन्दोलनको घोषणा गरेको हो ।
सरकारले गत भदौ २७ गते विद्यालय शिक्षा सम्बन्धी विधेयक प्रतिनिधिसभामा दर्ता गरेको थियो ।
संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले शिक्षकलाई पालिकामातहत राख्ने व्यवस्था गरेको छ ।
यो व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै महासंघले शिक्षकका पेसागत सुरक्षा, हकहित र सम्मानको माग राख्दै विद्यालय बन्द गरी आन्दोलन गर्ने जनाएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार ३ बजे शिक्षामन्त्री अशोककुमार राईको नेतृत्वमा हुने वार्तामा सहभागी हुन महासंघलाई आग्रह गरेको थियो । महासंघले भने वार्तामा सहभागी नभई मंगलबार नै केन्द्रीय समितिको बैठक राखेर सडक आन्दोलनलाई सशक्त बनाउने निर्णय गरेको थियो ।