वैखरी अनलाईन, बाणगंगा ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले पार्टी एकजुट हुँदा कसैले पनि पराजित गर्न नसक्ने दाबी गरेका छन् ।
शुक्रबार आयोजित नेपाली कांग्रेस बाणगंगा नगरस्तरिय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश निर्माणमा नेपाली कांग्रेस एकजुट भएर अगाडि बढ्नुको विकल्प नरहेको बताउँदै भने, ‘परिवर्तनका लागि लामो इतिहास बोकेको कांग्रेस विचारकै कारण उत्कृष्ट पार्टी भयो । यसको कार्यान्वयनमा सबै नेता कार्यकर्ता इमान्दार भएर लाग्नुपर्छ । काँग्रेस एकजुट भएर अगाडि बढेमा कुनै पनि शक्तिले कहिल्यै पनि हराउन सक्दैन ।’
पार्टीमा केन्द्रदेखि जिल्ला तहसम्म गुट र उपगुट रहेको बताउँदै मन्त्री आचार्यले त्यसलाई अधिवेशनमा मात्रै उपयोग गर्नुपर्ने र पार्टीको अधिवेशन सम्पन्न भएपछि सबै एक भएर मिलेर अगाडि बढ्नुपर्ने बताए । देशमा दीगो शान्ति र स्थायित्वका लागि पार्टीभित्र एक ढिक्का हुन आवश्यक रहेको उनको भनाई छ ।
उनले देशको विकास, समृद्धि र जनभावनाको कदर गर्ने पार्टी कांग्रेस भए पनि त्यसलाई बुझाउन नसक्दा समस्या देखिएकाले त्यसमा लाग्न सबैलाई आग्रह गरे । कांग्रेस एकजुट भएको विश्वास जनता माझ पु¥याउन नेताहरू नै विवेकशील बन्नुपर्ने उनले बताए ।
काँग्रेसको शक्ति भनेको बिपीको विचार भएकाले पार्टी यो विचारबाट विचलित हुन नहुने उनको भनाइ छ । बिपीले ७० वर्ष अगाडि दिएको विचारबाट पार्टी विचलित नभएको खण्डमा मुलुकका सबै शक्ति मिले पनि काँग्रेसलाई केही असर नहुने पनि उनले ठोकुवा गरे ।