जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले अतिउत्कृष्ट अर्थात ‘ए ग्रेड’ स्थान ल्याएको छ । गृह मन्त्रालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को कार्यसम्पादन मूल्याङ्कनको नतिजामा कपिलवस्तु प्रशासनले उत्कृष्ट अर्थात् ‘ए ग्रेड’ ल्याएको हो ।
गृह मन्त्रालय र प्रमुख जिल्ला अधिकारीहरूबीच आर्थिक वर्ष ०७९/८० का लागि भएको कार्यसम्पादन सम्झौताको कार्यान्वयनको अवस्था मूल्यांकन समितिले सार्वजनिक गरेको मूल्यांकन प्रतिवेदन अनुसार कपिलवस्तु २४ औँ नम्बरमा रहँदै अतिउत्कृष्ट हुँदै ‘ए ग्रेड’ हासिल गरेको हो ।
शान्ति सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागुऔषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण, मुद्दाको फर्छ्यौट लगायतका आधारमा कार्यसम्पादन मूल्यांकनमा कपिलवस्तु अतिउत्कृष्ट जिल्लाभित्र पर्न सफल भएको गृहमन्त्रालयले जनाएको छ ।
गृहमन्त्रालयले गरेको कार्यसम्पादन मूल्यांकनमा प्युठान, सल्यान, मकवानपुर, मनाङ, दाङ, गोरखा, बारा, लमजुङ, ललितपुर, तनहुँ, मोरङ, संखुवासभा, नुवाकोट, अछाम, पाल्पा, नवलपरासी (पश्चिम), भोजपुर, ओखलढुंगा, बर्दिया, दार्चुला, र सिन्धुलीको जिल्ला प्रशासन कार्यालय उत्कृष्ट अर्थात ‘ए ग्रेड’ मा परेका छन् ।
गृहमन्त्रालयका सहसचिव नारायण प्रसाद भट्टराईका अनुसार शान्ति सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागूऔषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण, विकास निर्माण अनुगमन र समन्वय, आर्थिक सुशासनसँग सम्बन्धित कार्यसम्पादनको मापनको आधारमा ग्रेड छुट्टाइएको हो ।
प्रतिवेदनअनुसार ३३ जिल्लाहरुले ९० प्रतिशतभन्दा बढी अंक प्राप्त गरेको मन्त्रालयले जनाएको छ । ३० जिल्लाले ८० प्रतिशतदेखि ९० प्रतिशतको बीचमा अंक प्राप्त गरेका छन् । १४ जिल्लाले भने ६० प्रतिशतदेखि ८० प्रतिशत अंक पाएका छन् ।
नतिजाको पुच्छरमा ७७ औं स्थानमा सिराहा रहेको छ, जस्ले ६१. ५६ प्रतिशत अंक प्राप्त गरेको छ । अन्तिमका पाँच जिल्ला प्रशासनमा दोलखा, बझाङ, चितवन, जाजरकोट र सिराहा रहेको मन्त्रालयले जनाएको छ ।